विदेशमा बजार बढाउँदै रेशम फिलिली



ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजार पाउन नसकेको भन्ने विषयमा फिल्मकर्मीबीच नै चर्चा चलिरहँदा केही फिल्मको माग भने स्वदेशसँगै विदेशमा पनि बढ्दै गएको छ । प्रदर्शनको तयारीमा रहेका र प्रदर्शन भइरहेका फिल्मको विदेश राइट विक्री हुने क्रमले पनि फिल्ममा आबद्ध कलाकार तथा प्राविधिकका लागि आशाको किरण उदाउँदै आएको छ ।

फिल्म ‘ताण्डव’, ‘मेरो भ्यालेन्टाइन’, ‘ठूली’ र ‘सम्बोधन’ हुँदै हाल ‘रेशम फिलिली’ले पनि विदेशमा रहेका नेपाली दर्शकलाई स्वदेशी फिल्म हेर्ने अवसर जुटाइदिएको छ । फिल्म ‘मेरो भ्यालेन्टाइन’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको छ भने अन्य फिल्म प्रदर्शनको तयारीमा छन् । भी मोसन पिक्चर्स प्रमुख तथा ‘रेशम फिलिली’ अभिनेता विनय श्रेष्ठ हालै भारतमा फिल्मको प्रदर्शन अधिकार बिक्री गरेर गत बिहिबार देश फर्किएका छन्। उनले सिक्किमको ह्वाइट हर्सलाई फिल्मको प्रदर्शन अधिकार बेचेका हुन्, जसअनुसार फिल्मले नेपालीभाषीको बाहुल्यता रहेको भारतका विभिन्न सहरमा आफुलाई प्रदर्शन गर्नेछ । कमेडी फ्लेबरको यो फिल्म बेलायत र अमेरिकामा बिक्री भैसकेको छ ।

नयाँवर्षको छेकोमा रिलिज हुने फिल्मले विदेशी रिलिजलाई पहिलो प्राथमिकतामा राखेको छ । हाल सम्पादन चरणमा रहेको फिल्मलाई ब्राण्डेड बनाउन लागिएको अभिनेता श्रेष्ठले बताए । प्रणव जोशी निर्देशित फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासियालगायतको अभिनय छ । विनयले यसअघि ‘भिजागर्ल’ निर्माण गरेका थिए ।

SUBSCRIBE 👉