‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने


टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ। बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइम टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ।

आइतबार फस्टलुक टिजर सार्वजनिक गरियो । जसमा कमेडी दरबारका कलाकारहरुको लुक्स देखाइको थियो । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषी धमला लगायतले शुभकामना दिएका थिए। कमेडीको दुनियामा अर्को नयाँ शो थपिदा आफूलाई निकै खुसी लागेको दीपाश्रीले बताइन्। उनले बजारमा अझै फरक सोंचका साथ यस्तै शोहरु आउनुपर्ने धारणा राखिन्।

यस्तै बिशाल भण्डारीले आफूहरुसँगै काम गरेका भाईहरुले नयाँ शो ल्याउदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए। पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा र भोलीका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने जानकारी दिए। कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ बिकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो।

यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए। उनले भने, ‘म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोंचमा छु।’

कमेडी दरबारका कलाकार मध्येकी एक अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिदैछिन्। उनले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन्। उनीसँगै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए।

शोमा अर्का कलाकार गायक सिडी बिजय अधिकारी भने सांगितीक कार्यक्रमका लागी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन्। शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन्। शोको क्रिएटिभ प्रमुखमा बिकाश अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईटेल छन्।

SUBSCRIBE 👉