चिया गफमा संगीतको चर्चा


Chiya-Guff
ग्ल्यामर नेपाल, काठमाडौं । कुनै पनि विषयका बारेमा बहस गर्न मान्छेहरु प्रायः राम्रै किसिमका स्थान रोज्छन् र त्यही किसिमका खान्कीका कुरा पनि खोज्छन् । तर केही समय अघि राजधानीमा युवाहरुले स्थापना गरेको चिया गफ फोरमले भने थोरै मान्छेको उपस्थितिमा निकै महत्वपूर्ण विषयमा अन्तरक्रिया गर्न थालेको छ । यसैक्रममा फोरमले सोमबार राजधानीको अनामनगरस्थित मण्डला थिएटर संगीतको अवस्था, वितरण प्रक्रिया र युवाको चाहना तथा बुझाईका विषयमा अन्तरक्रिया गरेको छ ।

वरिष्ठ गीतकार तथा सञ्चारकर्मी रमण घिमिरेले संयोजन गरेको कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, गायक निमा रुम्बा र गायिका इन्दिरा जोशीले संगीतका विविध विषयमा चर्चा गरेका थिए । भिन्न–भिन्न समयका तीन पुस्ताको जमघटले उपस्थित दर्शकका जिज्ञासालाई केही हदसम्म समाधान गरेको थियो । संयोजनकर्ता घिमिरेले संगीतमा बढेको विकृतिका बारेमा सोध्दा गायिका जोशीले पछिल्लो समयको संगीत विकासको चरणमा रहेकाले त्यसमा विकृति आएको कुरालाई आफुले अस्वीकार गर्ने बताईन् । ‘संगीतको बजार विस्तार हुँदै गएको छ, यस्तो सकारात्मक समयमा गलत कुरा आएको छ जस्तो लाग्दैन,’इन्दिराले भनिन्,‘हामी अहिले सिकिरहेको अवस्थामा छौं, त्यसकारण पनि आम मानिसमा चेतनास्तर विस्तारै बढ्दै गएको छ ।’

गायक रुम्बाले आफुले पप संगीतमा २३ वर्ष बिताएको स्मरण गर्दै त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा केही फरकपन आएको बताए । ‘पहिला मैले पप गीत गाउन गीतार बोकेर हिँड्दा मलाई आवारा भन्थे, त्यो बेलाको श्यामस्वेत टेलिभिजन हेर्ने पुस्ताहुँदै अहिले स्मार्ट फोन बोक्ने पुस्तासम्म आइपुग्दा धेरै परिवर्तन भइसकेको छ,’ उनले भने,‘हामीले विकृतिविहिन संस्कृतिलाई अगाडि लिएर जानुपर्छ । अनि मात्र संगीतको विकास हुन्छ ।’ वरिष्ठ संगीतकार बास्कोटाले स्रष्टाको कुनै पनि कृतिमाथि विकार ल्याउँदा विकृति आउने बताउँदै सय प्रतिशत संगीतमा ३० प्रतिशत जति विकृति आउनु खासै ठूलो कुरा नहुने जनाए । ‘समाज परिवर्तनसँगै श्रोताको चाहना अनुसार संगीत परिस्कृत बन्दै गएको छ, त्यसलाई विकृति नै भनेर भन्न मिल्दैन ।’ उनले भने ।

SUBSCRIBE 👉