शंख फुक्दै नीर शाह, फिल्म ‘परान’ को नयाँ पोस्टर सार्बजनिक


दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्। शंख फुक्दै गरेका शाहको अनुहारमा गम्भीरता झल्किएको छ। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर सार्बजनिक गरिएको थियो।

यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। फिल्मका निर्देशक दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ।

‘परान’ दसैं र तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। निर्माण टिमले आगामी फुलपातीको अघिल्लो दिन फिल्म एक गीत सार्वजनिक गर्ने तयारी समेत गरेको छ।

SUBSCRIBE 👉