फिल्म ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज

नेपाली फिल्म ‘परान’ मा समावेश गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज भएको छ। दसैंको अवसर पारेर रिलिज गरिएको यो भिडियो विवाहको परिवेशमा आधारित रमाइलो नृत्य-प्रधान छ।


नेपाली फिल्म ‘परान’ मा समावेश गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको रमाइलो नृत्य-प्रधान गीत को भिडियो सार्वजनिक गरिएको हो।

दसैंको अवसर पारेररिलिज गरिएको यो गीतजो भिडियो विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका शीर्ष अधिकांशजसो कलाकारहरूलाई देख्न सकिन्छ। मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडियोमा नृत्य तथा अभिनय गरेका छन्। कोरियोग्राफर सुनिल क्षेत्री हुन्।

दर्शकहरुलाई नचाउने खालको यो गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर सुन्न सकिन्छ। दीपक प्रसाद आचार्य र अनिश अधिकारीले लेखेको गीतको संगीत संयोजन रिदम कंडेलले गरेका हुन्।


🎬 भिडियो हेर्नुहोस: फिल्म ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’


दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। पूर्ण पारिवारिक कथामा बनेको फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको फिल्म हो। फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन्।

दीपक आचार्यको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन्। दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ।

SUBSCRIBE 👉