ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको आइतबार निधन भएपछि फिल्म ‘बिर्खेलाई चिन्छस्’ युनिटले आइतबार आयोजना गर्ने भनिएको दबाबमूलक कार्यक्रम स्थगित भएको छ ।
डी. एण्ड डी. मुभिज प्रालिको ब्यानरमा निर्मित र अराज केशव गिरीद्वारा निर्देशित फिल्मका कलाकार, प्राविधिकको समूहले ‘समयमै संविधान दे’ भन्ने नारा लेखिएको ब्यानरसहित माइतीघर मण्डलाबाट संविधानसभा भवन नयाँबानेश्वर अगाडि पुगेर बिर्सजन गर्ने कार्यक्रम तय गरिएको थियो । ‘तर श्रीकृष्ण दाईको निधनको खबरले हामी सबै मर्माहत भयौं, त्यसकारण उहाँको अन्त्येष्टि नभएसम्मका लागि दबाबमूलक कार्यक्रम स्थगित गरेका हौं ।’ निर्माता तथा अभिनेता सुवास थापाले भने ।
आगामी भदौको तेस्रो साताबाट प्रदर्शनमा आउने फिल्ममा सुवासका अलावा आयुशा राई, विनिता खड्का, सुरेश उप्रेती, सुरवीर पण्डित, माधव पण्डित, निर्मल शर्मा, शिशिर राणालगायतले अभिनय गरेका छन् । फिल्ममा गोविन्द राईको नृत्य, एनबी महर्जनको द्वन्द्व र मोहित मुनालको संगीत रहेको छ ।