
नेपाली फिल्म “तेल भिसा”का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीलाई “विदेश पठाइदिन्छु भन्दै ठगी” गरेको आरोपमा पक्राउ गरिएको हो।
उनले करिब २५० जनासँग ठगी गरेको आरोप छ भने १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्। पासाङ नोर्बु तामाङ लगायतका व्यक्तिले कार्कीविरुद्ध जाहेरी दिएका थिए। पक्राउपछि उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगारी ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भइसकेको छ। यसअघि पनि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।
उनले चाबहिलमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सल्टेन्सी करिब १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए।
प्रहरी अनुसन्धानका क्रममा कार्की पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएको खुलेको छ। उनको साथबाट भारतीय आधार कार्ड र प्यान कार्ड बरामद भएको प्रहरीले जनाएको छ। भारतमा रहँदा उनले ‘अन्नपूर्ण फास्टफुड’ नामक व्यवसाय सञ्चालन गर्दै आएका थिए।
READ in English: Film Producer Shivraj Karki Arrested on Foreign Job Scam Case
