‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री

नेपाली फिल्म ‘पाँच पाण्डव’ यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। हरिवंश आचार्यदेखि सागर लम्सालसम्मको बलियो कलाकार टोली रहेको फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी पनि नयाँ रूपमा जोडिएका छन्।


Eva Giri and Prashant Tamrakar Joins Nepali Movie Pach Pandav

Eva Giri and Prashant Tamrakar

ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ। गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगत्का दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ।

छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो। छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए।

चलचित्रका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन्। यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चलचित्रलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन। ‘हामीसँग हरिवंश दाइ जस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ। यो यस वर्षकै प्रतिक्षित चलचित्र बन्नेमा हामी ढुक्क छौं,’ श्रेष्ठले भने। नवीनले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन्। ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ। झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिच्दै छन्।

यो पनि पढ्नुहोस् : नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति

SUBSCRIBE 👉