‘क्या कमाल, बबाल छौ, हे नम्रता’


namrata-shrestha ग्ल्यामर नेपाल, काठमाडौं। पछिल्लो समय नेपाली फिल्ममा आइटम गीतको लहर चलेको छ। प्रमोशनदेखि फिल्मको व्यापारसम्म आइटम गीतको प्रभाव पर्ने भएकोले निर्माता /निर्देशकहरु आकर्षित भएका हुन्। सुव्रत आचार्यनको निर्देशनमा बन्न लागेको चलचित्र ‘अधकट्टी’मा पनि आइटम डान्स समावेश गरिने भएको छ। जुन गीत चर्चित नायिका नम्रता श्रेष्ठमाथि फिचराइज गरिनेछ। नम्रताको लागि यो गीत निकै यादगार हुने छ। किनभने सिनेमाका लागि उनको यो आइटम डान्स हो। त्यसमाथि शब्द पनि उनकै नाममा कोरिएको छ । रञ्जित आचार्यले लेखेको गीतले भन्छ, ‘क्या कमाल, बबाल छौ, हे नम्रता।’

‘अधकट्टी’मा नम्रतालाई सिनेमाको हिरोइनकै रुपमा देखाइन लागेको निर्देशक आचार्यले जानकारी दिएका छन्। सोही कारण गीतको शब्द पनि उनकै नाममा लेखिएको उनको भनाई छ। यसका लागि निर्माण पक्षले नम्रतासँग सम्झौता गरिसकेको छ। नम्रता पनि आफ्नै लागि लेखिएको गीतमा डान्स गर्न उत्साही रहेको बताइन्छ।

राजन इशानको संगीत रहेको उक्त गीतमा यूवराज चौलागाई, नीशा देशार र राजनकै स्वर छ। प्रदीपकुमार उदयले निर्माण गर्न लागेको यो चलचित्रमा गौरव पहाडी, रीस्ता बस्नेत, विल्सन विक्रम राई, राजन इशानलगाएतका कलाकारको अभिनय रहने पक्का भएको छ। चलचित्र माघको अन्तिम साताबाट फ्लोरमा जाँदैछ।

SUBSCRIBE 👉