कलाकारले भनेः ‘सभासदमा मनोनित गर्नुपर्यो’


Reporters-Club
ग्ल्यामर नेपाल, काठमाडौं । कलाकारहरुले सरकारले मनोनित गर्ने २६ जना सभासदमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले हालै आयोजना गरेको साक्षात्कार कार्यक्रममा कलाकारहरुले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरुको पनि संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका हुन् ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार एवम् निर्देशक यादव खरेलले राष्ट्रिय जीवनमा कलाकारहरुले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा कला, भाषा, संस्कृति र सिर्जनाको जर्गेना गर्न पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने बताए । ‘हुन त हामी नै त्यो ठाउँमा पुग्नुपर्छ भन्ने हाईन, तर कला, संस्कृतिको ज्ञाता संविधानसभामा पुग्दा सबैको अधिकार सुनिश्चित हुन्छ,’ उनले भने,‘नीति निर्माणमा यस क्षेत्रको मर्म र भावना समावेश हुन सक्छ । अन्यथा यो क्षेत्र उपेक्षित हुन्छ ।’ उनले कलाकारहरु सामाजिक परिवर्तनको एजेण्डाहरु बोकेर हिँड्ने भएकाले आफूहरुको अधिकारका लागि पनि कलाकारहरुको प्रतिनिधित्व संविधानसभामा हुनुपर्ने जनाए ।

Rishi-Dhamalsa

वरिष्ठ रंगकर्मी अशेष मल्लले सरकारले मनोनित गर्ने २६ सभासदमा कलाकरहरुकै प्रतिनिधित्व हुनुपर्छ भन्ने नभएर कला र संस्कृतिको जर्गेना गर्न राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान गर्ने मान्छेहरुको संविधानसभामा उपस्थिति अनिवार्य रहेको स्पष्ट पारे । ‘साम्प्रदायिक सोच भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको लागि योगदान गर्ने व्यक्तिहरुको संविधानसभालाई खाँचो छ,’ मल्लको भनाई थियो,‘ त्यसैले कलाकारहरुको प्रतिनिधित्व भए राम्रो नभए कलाकारहरुको मर्म र भावना बुझ्ने मान्छे जानुपर्छ भन्ने मेरो बुझाई हो ।’

नेपाल साँस्कृतिक संघका सभापति तीर्थ थापाले सांस्कृतिक क्षेत्रको सम्मान, सुरक्षा र पहिचानको लागि अनिवार्य रुपमा संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने जिकिर गरे । थापाले कला र संस्कृतिको उत्थानको लागि नीति, निर्माणमा प्रतिनिधित्व हुँदा यस क्षेत्रको मर्मसहितको विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गर्दै कम्तीमा पनि ४ जना साँस्कृतिककर्मीहरुको सहभागीता अनिवार्य रहेको दाबी गरे । वरिष्ठ लोक गायिका कोमल ओलीले पनि कलाकारहरुलाई राज्यले सँधै उपेक्षा गरेको आरोप लगाँउदै आफ्ना एजेण्डाहरुलाई घनिभूत रुपमा संविधानमा दर्ज गराउन पनि आफूहरुको संविधानसभामा उपस्थिति अनिवार्य रहेको जनाईन् ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिव नीलहरी काफ्लेले सरकारले मनोनयन गर्ने २६ सभासदमा कला क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागी अनिवार्य रहेको बताउँदै कला र संस्कृतिलाईे उपेक्षा गरे राज्य पाखन्ड हुने चेतावनी दिए । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि कलाकारहरुलाई अनिवार्य रुपमा संविधानसभामा प्रतिनिधित्व गराउनुपर्ने धारणा राखे ।

SUBSCRIBE 👉