पलेँटीमा गुञ्जँदै दिपक, कुन्ती र आभास


Paleti-Utsav
ग्ल्यामर नेपाल, काठमाडौं । आधुनिक नेपाली संगीत र यसका श्रष्टाहरुको सम्झनामा आयोजना हुँदै आएको कार्यक्रम ‘पलेँटी उत्सव’ ले तेश्रो श्रृंखला मनाउने भएको छ । यसपटकको कार्यक्रममा दीपक खरेल, कुन्ती मोक्तान र आभासले विभिन्न गीतमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन् ।

गायक दीपकले सत्तरी र असीका दशकमा आफुले गाएका गीतहरु ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘तिम्रो हर प्रश्नको जवाफ’ जस्ता सदाबहार गीत पलेँटीमा उनले गुञ्जाउनेछन् । यसबाहेक उनले केहि नयाँ गीतहरु पनि सुनाउने कार्यक्रम आयोजक नेपालयले जनाएको छ । ‘हामीले सक्रिय रुपमा गाउँदाको समय र अहिलेमा प्रविधिदेखि प्रस्तुतीसम्म ठूलो अन्तर आइसकेको छ,’ खरेल भन्छन्, ‘पलेँटी उत्सवमार्फत् म श्रोतालाई फेरि पुराना दिनहरु सम्झाउनुका साथै नयाँ पुस्तालाई समेत हाम्रो समयसँग जोड्न इच्छुक छु ।’

त्यस्तै गायिका कुन्तीले ‘माथि माथि सैलुङेमा’, ‘ गोठालो जाँदा’, ‘धरान धनकुटा’, ‘कहिले काँहि मलाई पनि’ र ‘तिम्रो मायाले मलाई डो¥याइ ल्यायो’ जस्ता गीतहरु प्रस्तुत गर्नेछिन् । ‘यसअघि पलेँटी श्रृंखलामा प्रस्तुत हुँदा संगीतका गम्भीर श्रोताहरु पाएर प्रभावित भएकी थिएँ,’ मोक्तान भन्छिन्, ‘कार्यक्रममा केहि नयाँ सिर्जना पनि प्रस्तुत गर्ने तयारी गरिरहेकी छु ।’

पलेँटीका संयोजक एवं गायक आभासले पनि आफ्ना लोकप्रिय गीत सुनाउनेछन् । ‘मेरा सिर्जना भए पनि यसपाला सबै गीतहरु सामूहिक स्वरमा प्रस्तुत हुनेभएको छ,’ आभास भन्छन्, ‘नेपाली श्रोताका निम्ति क्यान्टेटाको प्रभाव दिने हिसाबले नौलो खाले काब्य संगीत तयार पारेको छु ।’ पलेँटी उत्सवमा भदौ २६ गते गायक तथा संगीतकार आभासले आफ्नो संगीत प्रस्तुत गर्नेछन् भने भदौ २७ गते गायिका कुन्तीको प्रस्तुती हुनेछ । उत्सवको अन्तिम दिन भदौ २८ गते गायक दिपक प्रस्तुत हुनेछन् ।

SUBSCRIBE 👉