
बलिउडका नेपाली मूलका चर्चित छाँयाकार विनोद प्रधानले निर्देशन गर्न लागेको फिल्म ‘वेडिङ पुलाओ’ आगामी मध्य सेप्टेम्बरबाट फ्लोरमा जाने भएको छ । बलिउडका ‘१९४२: ए लभ स्टोरी’, ‘देवदास’, ‘रंग दे बसन्ती’, ‘भाग मिल्खा भाग’ र ‘टु स्टेट्स’ जस्ता हिट फिल्ममा छाँयाकार भइसकेका प्रधानले ‘वेडिङ पुलाओ’मार्फत निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् ।
यसै फिल्ममार्फत अनुष्का रञ्जन प्रमुख भूमिकामा डेब्यु गर्दैछन् । ‘यो फिल्मले युवाको प्रेम र साथीत्वको सम्बन्धलाई प्रस्तुत गरेको छ, फिल्ममा प्राय नयाँ कलाकार रहनेछन्, जो द आइटीए स्कुल अफर परफर्मिङ आर्टस्बाट प्रशिक्षित छन् ।’ विनोदले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् ।
बलिउडका प्रख्यात निर्देशक राजकुमार हिरानीले पनि विनोदलाई शुभकामना दिएका छन् । ‘मलाई जहिल्यै पनि एउटा कुराको आश्चर्य लाग्दथ्यो कि विनोद किन निर्देशन बन्न सकेनन् भनेर, उनी वरिष्ठ छाँयाकार मात्र होइनन्, उनी फिल्मलाई बुझ्ने उत्कृष्ठ कथावाचक पनि हुन् ।’ हिरानीले भनेका छन् ।
