‘च्यारिटी शो हेरेका दर्शकको प्रतिक्रियाबाट उत्साहीत छु’ – निर्देशक जनक दिप पराजुली


janak-deep-parajuliजनकदीप पराजुली सञ्चार र पत्रकारिता क्षेत्रमा चिनिएको नाम हो । उनले ५० भन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरेका छन् । भारतमा केही समयको सिनेमा अध्ययनपछि नेपाल फर्किएका पराजुलीले एउटा सिनेमा तयार पारेका छन्, ‘प्रोड्युसर’ । आउँदो माघ १७ गतेबाट देशभर प्रदर्शन हुने यो सिनेमाप्रति समग्र सिने उद्योगले नै आशा राखेको छ । पराजुली पनि आफ्नो पहिलो सिनेमा सफल हुने र दर्शकले मन पराउनेमा आशावादी देखिएका छन् । प्रदर्शनको मिति नजिकिदै गर्दा निर्माण पक्षले एग्रेसिभ प्रमोशन गरिरहेको छ । सोही क्रममा ग्ल्यामर नेपालले निर्देशक पराजुलीसँग गरेको कुराकानीको सम्पादीत अंश:

‘प्रोड्युसर’कस्तो कथा बोकेको सिनेमा हो ?
– यो सिनेमाको कथा फिल्म उद्योगकै हो । सिनेमा खेल्ने, बनाउने, इन्भल्ब हुन हुन चाहने तीन युवाको संघर्षको कथा फिल्मले भनेको छ । तर प्रस्तुती चाही नयाँ पुस्ताले रुचाउने खालको कमेडी ढंगबाट गरिएको छ । त्यो सँगसँगै आफ्नो देशलाई माया गर्नुपर्छ, जोगाउनुपर्छ भन्ने सदेन्श पनि फिल्ममा छ।

पछिल्लो आश राखिएका नयाँ निर्देशकहरुको फिल्म पनि राम्रो व्यापार गर्न सकिरहेका छैनन् । कतिको च्यालेन्ज महसुस गरिरहनु भएको छ ?
– सबैलाई एउटै क्याटोगोरीमा राखेर हेर्नुहुँदैन् । फेरि अरु साथीहरुले कसरी निर्देशन गर्नुभयो, मलाई थाहा छैन । तर मलाई यही चलचित्रले रातारात हिट बनाउनुपर्ने, वरिष्ठ बनाउनु पर्ने वा समिक्षकको वाहावाही पाउनुपर्ने भन्ने छैन । मलाई यति मात्र छ कि सिनेमाले लगानी उठाउनु मनपर्‍यो र दर्शकले फिल्म हेरुन्जेल मनोरञ्जन पाउनुपर्‍यो । यति भए पुग्छ । यी दुई कुरामा म सफल हुन्छु जस्तो छ । अरु साथीहरुले धेरै जसो एक्स्पेरिमेन्ट गर्नुभएको छ । केही नयाँपन र शैली दिन खोज्दा असफल हुनुपरेको छ । दर्शकहरुले भने नाटकघरमा नाटक हेर्दा र हलमा फिल्म हेर्दा भिन्न स्वादको अपेक्षा राख्नुहुन्छ । मेरो चलचित्रमा मैले एउटा दर्शकले राख्ने अपेक्षा पुरा गर्ने प्रयास गरेको छु । त्यसैले असफल हुन्छु कि भन्ने चिन्ता छैन।

फिल्म रिलिजमा किन ढिलाई ?
– हो, फिल्मको काम लगभग एक वर्ष अगाडि नै सकिएको हो । तर हामी उचित समयको पर्खाईमा थियौं । त्यससँगै हाम्रो यो चलचित्रमा निर्माता संघका अध्यक्ष राजकुमार राईको लगानी भएकोले अरु फिल्मलाई चलाउने मौका दिँदादिँदै आफ्नै फिल्मचाहीं केही ढिलाई भयो तर पनि केही बिग्रिएको छैन । फिल्मको कन्टेन्ट र प्रस्तुती पुरानो हुने खालको छैन । बरु हामीले यो समयको भरपुर सदुपयोग गरेका छौं । मार्केटिङदेखि च्यारिटी शोसम्म गर्न भ्यायौं । मार्केटिङले फिल्मका बारेमा धेरै भन्दा धेरै दर्शकलाई जानकारी दिन सक्यौं । जसबाट उहाँहरु फिल्म हेर्न हलसम्मै आउने वातावरण बनेको छ भने च्यारिटीले हाम्रो फिल्मको स्ट्रङ पोइन्ट पत्ता लागेको छ।

च्यारिटी शोहरुबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
– हो, च्यारिटी शोहरुले नै हाम्रो हौसला बढाएको हो । करिब आधा दर्जन शोहरु भयो, सबै ठाउँमा दर्शकहरुले अत्याधिक मन पराइदिनुभएको छ । च्यारिटी शोको टिकटको मुल्य नियमित मुल्यभन्दा धेरै हुने भएपनि दर्शकहरुको हलमा भिड लागेको थियो । फिल्म हेरिसकेपछि सबैको आँखामा सन्तुष्टी भरिएको थियो र उहाँहरुले फिल्म युनिटलाई धन्यवादसँगै शुभकामना दिनुभयो । यसकारण पनि हामी सफल हुनेमा ढुक्क छौं।

तपाईं आफैं पनि समिक्षक हुनुहुन्छ । तपाईलाई फिल्म दर्शकले मन पराइदिनुपर्छ जस्तो लाग्छ कि समिक्षकले ?
– मैले अघि पनि भने सिनेमा समिक्षकको लागि नभई दर्शकका लागि बनाइन्छ । त्यसैले एउटा फिल्ममेकरको रुपमा मेरो पहिलो प्राथमिकतामा दर्शक नै पर्नुहुन्छ । जब मैले पाँच वटा फिल्म दर्शकका लागि बनाउँछु, अनि मात्र मैले समिक्षकको लागि सोच्छु । अहिले चाही मैले दर्शकलाई बनाएको हो।

भनेपछि दर्शक र समिक्षकको रोजाईमा फरक हुन्छ ?
– एकदम फरक हुन्छ । त्यसैले अहिले मैले दर्शककै स्वाद अनुसारको फिल्म बनाएको छु । यद्यपी दर्शक र समिक्षकको रोजाई एकै खालको हुँदैहुँदैन भन्ने पनि होइन । हुन्छ तर निकै कठिन संयोग हो । हरेक फिल्मकर्मीको चाहना दुवैलाई मन परोस् भन्ने हुन्छ । मेरो पनि छ।

सिनेमा बन्नु अघि जति कुरा पर्दामा उतार्छु भनेर माइन्ड मेकअप गर्नुभएको थियो । त्यो आज पुरा भएको छ ?
– बजेट, समयलगाएतका समस्याले गर्दा आफूले सोचेको शतप्रतिशत काम पर्दामा उर्तान निकै गाह्रो हुने रहेछ । तर पनि ७० प्रतिशत उतारिएको छ । पोस्ट् प्रोडक्सनको काम सकिएपछि पुरा फिल्म हेर्दा म सन्तुष्ट छु । एउटा लेभलको र गर्व गर्न लायक सिनेमा बनेको छ।

कलाकारहरुको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
– पूर्ण सन्तुष्ट छु । विल्सन विक्रम राई, बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई सबैले निकै राम्रो काम गर्नुभएको छ । विल्सनले सिनेमालाई नै होल्ड गरेको छ । त्यसैले दर्शकले विल्सनलाई विक्रम गर्न सक्दैनन् । श्यामजीले पनि निकै राम्रो काम गर्नुभएको छ । बाबु बोगटी निर्देशकको भूमिकामा फिट देखिनुभएको छ । श्वेताले पनि आफ्नो तर्फबाट सिन्सियर भएर काम गर्नुभएको छ।

अत्यमा, तपाईको सिनेमा दर्शकले किन हेर्ने ?
– सिनेमाको मुख्य उद्येश्य भनेको मनोरञ्जन नै हो । सामाजिक कामको लागि होइन । भलै कसैलाई मनोरञ्जन प्रदान गर्नु पनि सामाजिक काम नै तर पनि मनोरञ्जन प्रदान गर्नु नै पहिलो काम हो । मेरो सिनेमा हेर्नुपर्ने कारण पनि मनोरञ्जन नै हो । त्यससँगै हामी नेपालीहरुले सिनेमा कल्चरको विकास गर्नुछ । त्यसकारण पनि मेरो सिनेमा हेर्नुपर्छ ।

SUBSCRIBE 👉