
२०८२ सालको ब्लकबस्टर चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने भएको छ। विपिन कार्की र मिरुना मगरको हिट जोडीलाई पुनः पर्दामा ल्याउने सिक्वेलको नाम ‘कलेजी – ऊनको स्वीटर’ राखिएको छ भने भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्रासमेत चलचित्रमा जोडिएका छन्।
शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो। आगामी दशैँपछि छायांकन सुरु गर्ने तयारी रहेको चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत चलचित्रको शीर्षक डिजाइन सार्वजनिक गर्दै ‘ऊनको स्वीटर’को संसार नयाँ कथा र यात्रासहित फर्किन लागेको बताएका छन्।
उनले लेखेका छन्, “प्रिय दर्शकहरू, तपाईंहरूले माया गरेर मनमा सजाउनु भएको ‘ऊनको स्वीटर’को संसार फेरि फर्किँदैछ नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित। ‘कलेजी – ऊनको स्वीटर’ अब यो केवल एउटा फिल्मको सिक्वेल होइन, पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हो। यसपटकको यात्रामा चर्चित भारतिय कलाकार पियुष मिश्रा पनि हामीसँग जोडिनुभएको छ। उहाँको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने हाम्रो विश्वास छ। छिट्टै भेटौँला।”
चौहानका अनुसार दर्शकबाट आएको निरन्तर मागपछि सिक्वेल निर्माण गर्ने निर्णय गरिएको हो। पहिलो भागको कथा अधुरो महसुस भएको र पात्रहरूको बाँकी यात्रा हेर्न चाहेको प्रतिक्रिया धेरै दर्शकले दिएको उनले बताए।
उनले भने, “यो पटक हामीले ‘ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ। धेरै दर्शकले फिल्म आधा अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर हामीलाई एकदमै आग्रह गर्नुभएको थियो। धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि गर्यौँ। तर, अब भने ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौँ।”

‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै अगाडि बढ्ने सिक्वेलमा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिएका छन्।
अघिल्लो चलचित्रमा धरणीधर र फूलको भूमिकाबाट दर्शकको मन जितेका विपिन कार्की र मिरुना मगर सिक्वेलमा पनि मुख्य भूमिकामा दोहोरिनेछन्। उनीहरूसँगै एलेक्स पारस र परीक्षा लिम्बूको पनि मुख्य भूमिका रहनेछ।
चलचित्रको अर्को प्रमुख आकर्षण भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्रा हुनेछन्। निर्देशक चौहानका अनुसार लामो समय लगाएर स्क्रिप्ट पढ्नुका साथै ‘ऊनको स्वीटर’ हेरेपछि मिश्राले सिक्वेलमा अभिनय गर्न सहमति जनाएका हुन्।
अभिषेक सुवेदीको सह-लेखन तथा नवीन चौहानको लेखन–निर्देशन रहने चलचित्रको बाँकी प्राविधिक तथा निर्माण टिम चाँडै सार्वजनिक गरिने बताइएको छ। चलचित्रमा नेपाल र भारतका प्राविधिकहरूको सहभागिता रहनेछ।
प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँको व्यापार गर्दै २०८२ सालको सुपरहिट चलचित्रको स्थान बनाएको थियो। भारतका सिनेमाघरमा समेत चलचित्रले डेढ करोड भारु अर्थात् २ करोड ४० लाख नेपाली रुपैयाँ कमाउँदै ५१ दिनसम्म प्रदर्शन भएको थियो।
चलचित्रका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ जस्ता गीतले पनि दर्शक तथा श्रोतामाझ उल्लेखनीय लोकप्रियता कमाएका थिए।
‘ऊनको स्वीटर’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको थियो। शनिबार सम्पन्न इन्फा अवार्डमा समेत चलचित्रले उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत र संगीतसहित नौवटा अवार्ड जित्यो।
त्यस्तै, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता तथा नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, लेखक र ब्याकग्राउन्ड म्युजिकतर्फ सम्मानित भएको चलचित्रले हालसम्म १९ वटा अवार्ड जितिसकेको छ।
अब पहिलो भागमा अधुरो छाडिएको धरणीधर र फूलको प्रेमकथाले ‘कलेजी – ऊनको स्वीटर’मा कस्तो मोड लिनेछ भन्ने चासो दर्शकमाझ रहने देखिन्छ।

