ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म जगतका लोकप्रिय कलाकार तथा नेवारी फिल्म ‘राजमति’का नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधन प्रति दुःख प्रकट गर्दै नेपाल भाषाका कलाकर्मीहरुको संस्था नेवाः जागरण संकिपा(चलचित्र) समितिले राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
सभामा समितिका प्रमुख विजयरत्न तुलाधर(असंबरे)ले श्रीकृष्ण श्रेष्ठको परिचय प्रस्तुत गर्दै उनको निधनले राष्ट्रको कलाक्षेत्रमा ठूला क्षति पुगेको विचार व्यक्त गर्दै श्रेष्ठले नायक भई खेलेको नेपाल भाषाको फिल्म ‘राजमति’का निर्देशक नीर शाहले पठाएको शोक सन्देश पनि सुनाए । उक्त फिल्मकी नायिका हिसिला महर्जनले नायक श्रेष्ठसँगको संस्मरण सुनाएकी थिईन् भने श्रीकृष्णको बाल्यकालिन साथी संजय चित्रकार र परिवारको तर्फबाट उनका भिनाजु चन्द्रप्रसाद श्रेष्ठले पनि श्रीकृष्णको बारेमा आफ्ना कुराहरु राखेका थिए ।
कार्यक्रममा फिल्म ‘आमा’ की अभिनेत्री चैत्यदेवी, वरिष्ठ गायक भृगुराम श्रेष्ठ, नायक मणिराज लवट, नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य, पूर्व सभासदहरु बुद्ध सायमी र तीर्थराम डंगोल, डा.चुण्डा बज्राचार्यलगायतका राजनैतिक एवं भाषिक, साहित्यिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।