
‘Acharya’ Trailer Brings Back the Nikhil Upreti Action Fans Remember
अभिनेता निखिल उप्रेती फेरि आफ्नो परिचित एक्सन अवतारमा फर्किएका छन्। उनको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘आचार्य’को पावरप्याक एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ, जहाँ निखिललाई तीव्र द्वन्द्व, स्टन्ट र मास–इन्टरटेनर शैलीमा प्रस्तुत गरिएको छ।
असोज ९ गते अर्थात् सेप्टेम्बर २५ देखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र ठूलो स्केलको प्रस्तुतिसँगै कथामा न्याय, सस्पेन्स, आधुनिक प्रविधि र अध्यात्मका केही पक्षसमेत जोडिएको संकेत ट्रेलरले दिन्छ।
निखिलको निर्देशनमा बनेको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘भैरव’ निर्देशन गर्नुका साथै मुख्य भूमिकामा अभिनय गरेका थिए। ‘भैरव’मा उनको एक्सन अवतारले चर्चा पाएको थियो भने ‘आचार्य’मा त्यही शैलीलाई अझ ठूलो क्यानभासमा प्रस्तुत गर्ने प्रयास देखिन्छ।
पछिल्ला वर्ष नेपाली फिल्ममा तुलनात्मक रूपमा कम देखिएको ‘मास इन्टरटेनर’ स्वादलाई फेरि हलसम्म ल्याउने प्रयासका रूपमा पनि ‘आचार्य’लाई प्रस्तुत गरिएको छ।
नेपालमा विदेशी फिल्मको बलियो उपस्थितिबीच नेपाली बजेट, स्थानीय कन्टेन्ट र नेपाली जनशक्तिबाट पनि ठूलो स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिने देखाउने आफ्नो उद्देश्य रहेको निखिलले बताए।
‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं । त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ निखिलले भने।
हरेक फिल्ममा दर्शकलाई केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै उनले ‘आचार्य’मा एक्सनसँगै कन्टेन्टमा पनि नयाँपन खोजिएको बताए।
‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु । यसमा पनि एक्शन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु । दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ,’ उनले भने।
यसअघि फिल्मको फर्स्टलुक सार्वजनिक गर्दा निखिलले शीर्षक ‘आचार्य’लाई कुनै जात वा समुदायसँग नभई युद्ध र कूटनीतिमा निपुण गुरुको अवधारणासँग जोडिएको बताएका थिए। फिल्म नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको हो।

Actress Purnika Sijapati
‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतीले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।
फिल्ममा दीपराज राणा, प्रमोद अग्रहरि, रोहित चौधरी, ध्रुव कोइराला, सजिना श्रेष्ठ, रञ्जित कोइराला, सरिता ज्ञवाली, अनुप तुलाधर, सुरेश कोहली, जेसिका पोखरेल, रोशनी आचार्यलगायत कलाकार पनि देखिनेछन्।
निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता कृष्ण भट्टराई हुन् भने मिथिलेश तिवारी कार्यकारी निर्माता छन्। निखिल स्वयंले फिल्मको लेखन तथा निर्देशन गरेका हुन्।
सौरभ लामा, मनु विक र नवराज कृष्ण थापाले फिल्मको छायांकन गरेका छन्। शुक्रराज शाहको एक्सन निर्देशन रहेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका हुन्। युग भुसाल संगीत निर्देशक र कालाचरण पार्श्व संगीतकार हुन्।
फिल्मका गीतमा किरण थापा र गम्भीर विष्टको कोरियोग्राफी छ। टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
‘आचार्य’लाई नेपालमा मनोज राठीले वितरण गर्दैछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो।
फिल्म असोज ९ अर्थात् सेप्टेम्बर २५ देखि सिनेमाघरमा प्रदर्शन हुँदैछ।


