
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली बजारदेखि अन्तर्राष्ट्रियस्तरसम्म सुनका गरगहना विक्री गर्दै आएको कम्पनी रिद्धी सिद्धी ज्वेलर्सले पहिलोपटक फिल्म क्षेत्रको ठूलो कार्यक्रममा आफ्नो ब्राण्डलाई प्रायोजन गरेको छ । विगत सात वर्षदेखि अवार्ड आयोजना गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले हङकङमा आयोजना गर्न लागेको ‘सातौं नेफ्टा फिल्म अवार्ड’लाई कम्पनीले टाइटल प्रायोजकका रुपमा सहकार्य गरेको राजधानीमा आइतबार बेलुका आयोजित कार्यक्रममा घोषणा गरेको छ ।

कम्पनीका सीइओ नरेन्द्रप्रसाद गुप्ताले नेफ्टासँग सहकार्य गर्न पाउँदा कम्पनीलाई खुशी लागेको भन्दै आफ्नो ब्राण्डलाई सन् २०१५ सम्ममा अनलाइनमार्फत विश्वभर पुर्याउने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रतिक्रिया पाइरहेका बेला गहना कम्पनीले फिल्मकै अवार्डको ब्राण्ड प्रायोजन गर्नु आफैमा गर्वको कुरा भएको बताए । नेफ्टाका अध्यक्ष मनोज केसीले आफुले कुरा भन्दा काम बढी गरेर देखाउने दाबी गरे ।

हङकङमा अवार्ड गराउनका लागि भूमिका खेल्ने एसके प्रोडक्सनका अध्यक्ष सुनिल कुमार थापाले हङकङमा अवार्ड गर्नु चुनौति रहेको भन्दै त्यो चुनौति पुरा गर्न त्यहाँ रहेका गैर आवासीय नेपालीको सहयोग पाएको बताए । हङकङ आयोजक खोटाङ सोसाइटी हङकङका अध्यक्ष अधिराज राईले आफुहरुले हङकङमा व्यावसायिकताका लागि भन्दा पनि नेपाली कला र संस्कृतिको संरक्षण गर्न अवार्ड आयोजना गर्न लागेको जनाए । कार्यक्रममा महानायक राजेश हमालले अवार्डको निरन्तरता हुनु नै खुशीको कुरा बताए भने वरिष्ठ कलाकार निर शाहले नेफ्टा विना चलचित्र उद्योग नै खल्लो बन्ने दाबी गरे ।
