सर्ट फिल्ममा छानियो ‘द मिरर’ र ‘चौकठी’


Mirror-Movieग्ल्यामर नेपाल, काठमाडौं । बंगलादेशमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’मा नेपालका तर्फबाट दुई फिल्म सहभागी भएका छन् । ढाकाको शिल्पकला एकेडेमीमा शुक्रबार र शनिवार प्रदर्शन हुने फिल्ममा ‘द मिरर’ र ‘चौकठी’ रहेका छन् ।

बंगलादेशको ढेकी प्रोजोजोनाले आयोजना गरेको महोत्सवमा नेपालको लागि नेपाली कला संस्कृति झल्किने लघु फिल्महरुको माग भएको थियो । नेपाली राजदुतावास ढाकाबाट परराष्ट्र मन्त्रालय हुँदै चलचित्र विकास बोर्डसम्म फिल्मको मागपत्र आईपुगेको थियो । महोत्सवमा सहभागिताका लागि ५ मिनेट देखी ३० मिनेटसम्मका लघु फिल्महरु माग भएको थियो । समय धेरै बाँकी नरहेकोले उपलब्ध दुई फिल्म मात्र उक्त महोत्सवमा पठाउन सकिएको बोर्डका सुचना अधिकृत आनन्द घिमिरेले बताए ।

गोपाल चन्द्र लामिछाने निर्देशित ‘द मिरर’ ग्रामीण महिलाको दिनचर्या कथामा बनेको ६ मिनेट ५५ सेकेण्ड लामो फिल्म हो । पपुलर मल्टिमिडियाको ब्यानरमा शक्तिबल्लभ घोरासैनीले बनाएको उक्त लघु फिल्ममा भगवती अधिकारी, मुस्कान केसी (बाल कलाकार) र लक्ष्मण शेषको अभिनय छ । दिपक रौनियार निर्देशित ‘चौकठी’ १८ मिनेट लामो छ । चौकठीले प्रगतिवादी विषयलाई महिलाका पक्षबाट उठाएको छ । जसमा रञ्झु झा (जनकपुर बम काण्डमा मारिएकी), घनश्याम मिश्र र आशा मगरातीको अभिनय रहेको छ ।

SUBSCRIBE 👉