दक्षिण कोरियामा नेपथ्यको भव्य कन्सर्ट


Amrit Gurung | Nepathya | Photo Courtesy: Jukson.Com

ग्ल्यामर नेपाल, सियोल । चर्चित लोक-रक ब्याण्ड नेपथ्यले दक्षिण कोरियामा भव्य कन्सर्ट गरेको छ। सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा जम्मा भएका हजारौं दर्शक नेपथ्यको संगीतसँगै झुमेका थिए। दक्षिण कोरियामा नेपथ्यको यो तेस्रो कन्सर्ट हो। यसअघि सन् २००५ र २०१० मा आफूलाई प्रस्तुत गरिसकेको थियो। त्यतिबेला यहाँ जम्माजम्मी ६ हजार नेपाली बस्थे, जुन संख्या अहिले बढेर करिब २५ हजार पुगिसकेको छ। ब्याण्डका लिड भोकलिस्ट अमृत गुरुङले आफ्नो प्रस्तुतीमार्फत यीनै नेपालीहरुको मन जित्ने प्रयास गरेका थिए।

“हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईहरु यहाँ आइपुग्नुभएको हो। जेजस्तो भए पनि स्वदेशका निम्ति केहि योगदान पुर्‍याउनु हामी सबैको कर्तब्य हो,” गुरुङले निकै भावुक हुँदै भने, “तन्नेरीवयमै आफ्नो माटो र घरपरिवार छाडेर विदेशिनुपरेका संसारभरका आप्रवासी कामदारहरुलाई म अभिवादन गर्छु ।” उनले यसो भनिरहदा प्रत्युत्तरमा कार्यक्रममा तालीको फोहोरा छुटेको थियो भने कतिपयको आँखा रसाएको थियो।

दुई घन्टा लामो प्रस्तुतीमा गुरुङले नेपालका विभिन्न भेगका लोकलयसँगै भिडियो प्रस्तुत गरेर दर्शकलाई जन्मभूमिको याद दिलाएका थिए । त्यसलगत्तै उनले पूर्वी नेपालको सम्झना गराउने ‘रेशम…’, लाङटाङ भेगमा संकलित ‘भेडाको ऊनजस्तो…’, गण्डकीका सुसेली बोकेको ‘तालको पानी…’ र ‘लामपाते सुरती…’ देखि पश्चिमी नेपालको ‘सा..कर्णाली…’सम्मका गीतमा भाका हालेका थिए । गीतको तालमा नेपथ्यसँगै दर्शकले पनि कम्मर मर्काएका थिए। ‘यो जिन्दगानी..’ र ‘यौटा चिठ्ठी…’ ‘गाउँ–गाउँबाट उठ..’ र ‘रातो र चन्द्रसूर्य…’ जस्ता गीतहरु गाउँदा कार्यक्रमको माहौल निकै भावुक बन्न पुगेको थियो। कार्यक्रममा गुरुङले हालसालै रेकर्ड भएको व्याण्डको नयाँ गीत ‘हो रामा रामा…हो रामा रामा…’ पनि सुनाएका थिए।

कार्यक्रममा गुरुङलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए। कोरियास्थित नेपाल मगर संघको आयोजना रहेको यस कार्यक्रमलाई नेपालयले संयोजन गरेको थियो। गुरुङको प्रस्तुती अघि बहुचर्चित भारतीय रियालिटी शो डिआईडी लिटिल मास्टर सिजन–३ की विजेता तेरिया मगरले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन्।

SUBSCRIBE 👉