पत्रकार र संगीतकर्मीलाई विन्ध्यवासिनी सम्मान


Bindabasini-Musicग्ल्यामर नेपाल, काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनले आगामी असोज १ गते बुधबार राजधानीमा ‘विन्ध्यवासिनी सम्मान तथा संगीत सांझ २०७१’ आयोजना गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पत्रकार, संगीतकर्मी, फाउण्डेसनका आजीवन सदस्य तथा ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’को मनोनयनमा परेका संगीतकर्मीहरुलाई मायाको चिनो प्रदान र सांगितीक प्रस्तुति रहने फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जनाईन् ।

कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरु शान्तिप्रिय, अनन्त वाग्ले, नवराज लम्साल, डब्बु क्षेत्री, राजन घिमिरे, श्याम स्मृत, सुब्रत आचार्य, राज श्रेष्ठ, राजाराम फुँयाल, रेमणदास श्रेष्ठ, सविना कार्की, गोविन्द गिरी, चन्द्रमणी गौतम, राजु बोहरा, नविन दाहाल र सुर्यकुमार क्षेत्रीलाई जनही नगद ५ हजार रुपैंयाँसहित सम्मान गरिने फाउण्डेसनका कार्यसमिति सदस्य सुवास रेग्मीले जानकारी गराए । छापा र विद्युतिय सञ्चार माध्यममा रही पत्रकारितामार्पmत नेपाली गीत संगीत र कलाको क्षेत्रमा योगदान पुर्याएवापत सञ्चारकर्मीहरुलाई सम्मान गरिन लागेको उनले बताए ।

त्यसै गरी कार्यक्रममा संगीतकार शंभुजीत बासकोटालाई ५० हजार रुपैयाँका साथ संगीतकर्मी सम्मानबाट सम्मानित गरिने फाउण्डेसनका सचिव परमानन्द खनालले जनाए । कार्यक्रममा नेपाली गीत संगीतको विकास र विस्तारको उद्येश्यले संगीतकर्मीकै संलग्नतामा स्थापित विन्ध्यवासिनी फाउण्डेसनका आजीवन सदस्यहरु सत्य र स्वरुपराज आचार्य, प्रमोद खरेल, रजिना रिमाल, योगेन्द्रमणी दाहाल, गोविन्दप्रसाद उपाध्यायलगायत ३६ जनालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै आगामी मंसिर २६ गते राजधानीमा हुने ‘पाँचौ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड’को ३१ विधाको मनोनयनमा पर्न सफल संगीतकर्मीलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष लीनाले खुलाईन् ।

उनका अनुसार कार्यक्रममा सत्य–स्वरुपराज आचार्य, मौसम गुरुङ, श्रेयसी चेम्जोंग लिम्बु, नरेन्द्र प्यासी, रजिना रिमाल, प्रमोद खरेललगायतले आफ्नो प्रस्तुति पेश गर्नेछन् ।

SUBSCRIBE 👉