बालबालिकाका लागि किड्स डान्सिङ–सिङगिङ कम्पिटिसन


ananda-karki-anil-shahi-sapna-rani-joshi-binayak-das-shresthaग्ल्यामर नेपाल, काठमाडौं । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभाको सम्मान गर्ने उद्देश्यले राजधानीमा ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिङ्गिङ कम्पिटिसन २०१४’ हुने भएको छ । एक्टिभ यो मिडिया हाउसले आगामी कार्तिक २९ गते जमलस्थित राष्ट्रिय नाँचघरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रमबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मिडिया हाउसकी उमा श्रेष्ठले दुई समूह विभाजन गरेर प्रतियोगीको अडिसन लिइने बताईन् । ‘५ देखि ९ र १० देखि १५ वर्ष उमेर समूहमा बालबालिकालाई विभाजन गरि अडिसन लिनेछौं, जसले गर्दा उमेर समूहका बालबालिकाको प्रतिभा पनि हेर्न सजिलो हुनेछ,’उमाले भनिन्,‘दुई समूहबाट दुई–दुई गरी चार विजेता छनौंट गरिनेछ ।’ उनका अनुसार प्रतियोगिताको विजेताले १५ हजार रुपैंयाँसहित ट्रफी, सर्टिफिकेट तथा उपविजेताले १० हजार रुपैंयाँसहित ट्रफी र सर्टिफिकेट पाउनेछन् ।

आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने बालबालिकाले जुनसुकै भाषाका गीत तथा जुनसुकै शैलीका नृत्य पनि प्रस्तुत गर्न सक्ने जनाएका छन् । यसबाहेक गायनमा उत्कृष्ठ हुनेले आयोजकले निकाल्न लागेको एक एल्बममा गायनको मौका पाउनेछ भने नृत्यमा उत्कृष्ठ हुनेले साल्सा डान्स एकेडेमीमा एक महिनाको निशुल्क साल्सा बिगिनर्स कक्षा लिन पाउनेछ ।

पत्रकार सम्मेलनमा अडिसन र फाइनल प्रतियोगिताको जुरी समेत रहेका गायक आनन्द कार्कीले बालबालिकाहरुको अतिरिक्त क्रियाकलाप प्रति आकर्षण बढाउन आयोजना गर्न लागिएको प्रतियोगिता आफैमा राम्रो हुने दाबी गरे । अर्का जुरी साल्सा डान्स एकेडेमीका प्रबन्ध निर्देशक विनायकदास श्रेष्ठले बालबालिकाहरुलाई नृत्य र गायन प्रति अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जुरीहरु सपना रानी जोशी र अनिल शाहीले पनि आफ्नो विचार राखेका थिए ।

आयोजकका अनुसार फाइनल प्रतियोगितामा वरिष्ठ गायिका मिरा राणा, गायक कार्की, गीतारवादक अनिल शाही, साम्बा कोरियोग्राफर श्रेष्ठ र कोरियोग्राफर सुविमा श्रेष्ठ जुरीका रुपमा रहनेछन् । प्रतियोगिताको लागि दशैं पछि अडिसन हुनेछ । फाइनल प्रतियोगिता हेर्न आउने दर्शकहरुबाट लिइने टिकट रकमको २० प्रतिशत हिस्सा पढ्न नपाएका बालबालिकाका लागि खर्च गरिने आयोजक संस्थाकी उमाले जानकारी दिईन् ।

SUBSCRIBE 👉