ग्ल्यामर नेपाल, काठमाडौं ।
आर्यन सिग्देलको छवि चकलेटी हिरोको रुपमा बनेको छ। अभिनयमा विविधता नभएको भन्दै थोरबहुत आर्यनको आलोचना हुने गरेको छ। विस्तारै उनी यो आरोपलाई चिर्ने प्रयासमा छन्। सोही क्रममा उनी पहिलो पटक एक्सन भूमिकामा देखिएको फिल्म ‘नाईके’ रिलिजका लागि तयार भएको छ। निर्माण कम्पनी ब्ल्याक स्याडो प्रोडक्शनले मसिंर १९ गतेलाई प्रदर्शन मितिलाई पुष्टी गरेको हो। यसअघि असोज ३ मा प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारणले फिल्मको प्रदर्शनलाई पछाडि धकेल्नु परेको कम्पनीले जनाएको छ।
‘प्राविधिक रुपमा फिल्मलाई उत्कृष्ट बनाउनका लागि केहि समय बढि लाग्यो,’ फिल्मका निर्देशक नेत्र गुरुङले भने, ‘नाईके अब दर्शकहरुको लागि एउटा प्याकेज खुराक बनेको छ।’ सबैखाले दर्शकले ‘नाईके’ हेरेर मनोरञ्जन लिन सक्ने उनको दाबी छ। फिल्ममा आर्यनसँगै रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।
नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन्। पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन्। ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफि भने रोहन नेपालीको छ। फिल्ममा सानुकुमार द्वन्द निर्देशन गरेका छन्। राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन्। जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ। फिल्मको लागि ७० लाख रुपैया खर्च भएको निर्माण कम्पनीले जानकारी दिएको छ।