निर्देशक नवल भन्छन्,‘लज्जाले समाजमा छाप छोड्नेछ’


Nawal-Shilpaग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘तस्वीर’बाट निर्देशकको रुपमा डेब्यु गरे पनि निर्देशक नवल नेपाल त्यसपछिको फिल्म ‘श्रीमान’बाट राम्रा निर्देशकका रुपमा फिल्मकर्मीमाझ चिनिए । विशेषतः मानवीय संवेदनाका विषयलाई कथामार्फत पर्दामा प्रस्तुत गर्ने उनको खुबी फिल्म ‘महशुस’मा पनि देखियो । अहिले यिनै निर्देशक फिल्म ‘लज्जा’मार्फत आगामी शुक्रबारबाट दर्शकमाझ पुग्दैछन् । फिल्म रिलिजको मिति नजिकिँदै जाँदा उनलाई सञ्चारमाध्यममा अन्तर्वार्ता दिनुको व्यस्तता त छँदैछ, फिल्मबाट दर्शकले दिने प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता र डर पनि उत्तिकै छ ।

‘लज्जा’मा के छ ? जसले गर्दा उनमा डर र कौतुलहता दुवै छ । ‘फिल्मले छोरी मान्छेको अप्ठ्यारा पक्षलाई उजागर गरेको छ, संस्कार र संस्कृतिमा छोरी मान्छेको अवस्था र भूमिका कस्तो हुन्छ त्यसलाई प्रस्तुत गरिएको छ,’निर्देशक नेपालले भने,‘आफ्नो मर्यादा नाघेर बाहिर निस्कँदा छोरी मान्छे कस्तो परिस्थितिमा निस्किन्छिन् भन्ने विषयलाई फिल्ममा उठान गरिएको छ ।’ अघिल्ला दुई फिल्म(श्रीमान,महशुस) र अहिले ‘लज्जा’ को ‘सेन्टिमेन्ट’ रङ एउटै भए पनि विषयबस्तु र प्रस्तुति भने फरक रहेको नवलको कथन छ । ‘अघिल्ला दुई फिल्मका कमजोरीलाई ‘लज्जा’मा सुधारेको छु,’उनले भने,‘लज्जाले समाजमा एउटा छाप अवश्य छोड्नेछ, हलबाट निस्कँदा दर्शकले एउटा राम्रो सन्देश फिल्मबाट पाउनेछन् ।’ संवेदनात्मक शैलीका कथा फिल्ममा देखाएर दर्शकको रोजाईमा परेका यी निर्देशकलाई हाँस्य विधाको फिल्ममा पनि रुची रहेछ ।

‘लज्जा’मार्फत फिल्मी अभिनयमा डेब्यु गरेकी नवनायिका शिल्पा पोखरेलको कामबाट नवल पूर्ण सन्तुष्ट छन् । ‘मैले शिल्पाको फिल्मी चरित्रको अध्ययन गरेँ, त्यसपछि डेढ महिना वर्कसपमा बसेर उनलाई राम्रो बनाएँ,’नवलले भने,‘शिल्पाको कामबाट म शतप्रतिशत सन्तुष्ट छु ।’ उनका अनुसार फिल्ममा अभिनेता आर्यन सिग्देलको भूमिका आम मानिस सरहको छ, जसले नराम्रो कुराको जहिल्यै पनि प्रतिकार गर्दछ । नवलले फिल्ममा अन्य कलाकारको अभिनयको पनि तारिफ गरेका छन् । ‘कलाकारको ट्युनिङ र क्यानभास राम्रो छ,’उनले भने,‘त्यसकारणले पनि फिल्मबाट म आशावादी छु ।’

छविराज प्रोडक्सनको व्यानरमा छविराज ओझाले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, किरण केसी, ध्रुव कोइराला, हिउँवाला गौतम, सागर लम्साललगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व र मदनकश्यप घिमिरेको छायांकन छ ।

SUBSCRIBE 👉