एल्बमको सात लाख रुपैंया गाउँ विकासमा


Album-Newsग्ल्यामर नेपाल, काठमाडौं ।
गीतकार पद्मा लिंखा मगरको पहिलो गीति एल्बम ‘नजर’को बिक्रीवितरणबाट संकलित रकम झुम्लावाङ गाउँ संस्थापना (जेभीएफ)लाई हस्तान्तरण गरिएको छ । निष्ठा म्युजिकले राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले जेभीएफका देश संयोजक पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमवापतको चेक हस्तान्तरण गरे ।

जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर वैशाखी टेकेर रकम हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो । जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी/विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । आफ्नो गाउँ–समाजको विकासका लागि सरकार तथा दातृसंस्थाको मात्रै मुख ताकेर बसे अझै दशकौं कुर्नुपर्ने मात्रै होइन, यसले व्यक्तिगत तथा समग्र समाजलाई नै परनिर्भर बनाउँछ भन्ने निष्कर्षका साथ झुम्लावाङमार्फत सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको जेभीएफले जनाएको छ ।

संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् । निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको यस एल्बममा राजेश थापाको सोलो संगीत छ । सर्जकका तर्फबाट कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउँको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए । एल्बमका गीतहरूमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।

उक्त रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । ‘प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई यस रकमबाट पारिश्रमिक दिइनेछ ।’ कार्यक्रम संयोजक सचित राईले भने ।

SUBSCRIBE 👉