मेरी बास्सै बाट बहिरिएकि निर्मली म्युजिक भिडियोमा


niru-khadka-nirmaliग्ल्यामर नेपाल, काठमाडौं ।
असली नामभन्दा आफ्नो चरित्रका कारण चिनिने कलाकार भाग्यमानी मानिन्छन्। यसअर्थमा भन्ने हो भने निरु खड्का थोरै भाग्यमानी कलाकारमध्ये एक हुन् किनभने उनलाई निरुभन्दा त्यति धेरैले चिन्दैनन्, जति निर्मली भन्दा चिन्छन्। हास्यश्रृंखला ‘मेरी बास्सै’मा धुर्मसकी दिदी अर्थात निर्मलीको भूमिकामा निरुले धेरै दर्शकको मन जितिन्। तर आफूलाई लोकप्रिय बनाउने हास्य सिरियलबाट बाहिरिनु परेको तीन महिना बितेको छ।

निर्देशकद्वय सिताराम कट्टेल र केदार घिमिरेबीचको खटपटको सिकार भएकी थिइन उनी। ‘मेरी बास्सै’बाट बाहिरिएपछि सुरुमा त निरुलाई करिअर नै धरापमा पर्ला भन्ने चिन्ताले नसताएको होइन्। तर यो अवधिमा आफ्नो ख्याती अझ उकास्ने मौका पाएकी छिन् म्युजिक भिडियो र स्टेज शोमार्फत। अहिलेसम्म झण्डै तीन दर्जन म्युजिक भिडियोमा कम्मर मर्काइसकेकी छिन्।

हास्यकलाकारसँगै कुशल नृत्यांगना पनि भएकाले देशविदेशमा हुने स्टेज शोमा उनको डिमान्ड बढिरहेको छ। खुशी हुँदै भन्छिन् “म्युजिक भिडियो र स्टेज शोमा व्यस्त भएकाले मेरी बास्सैबाट बाहिरीनु परेपनि ओझेलमा परेकी छैन्।” केदार निर्देशित हास्यश्रृंखला ‘खासखुस खासखुस’ प्रशारण भएपछि आफ्नो करिअरमा इँटा थप्नेमा ढुक्क छिन् उनी। फिल्ममा आफूलाई सुहाउँदो भूमिकाको प्रतिक्षामा रहेको उनको भनाई छ।

SUBSCRIBE 👉