ग्ल्यामर नेपाल, काठमाडौं ।
सामान्यतयाः फिल्मको फष्टलुकमा कलाकारको अनुहार राखिन्छ । जसले गर्दा आम दर्शकमा पनि फिल्ममा कलाकार को को छन् भन्ने कौतुहलता पनि मेटिएको छ । तर बसन्त निरौलाद्वारा निर्देशित फिल्म ‘आवेग’को फष्टलुक भने अन्य फिल्म भन्दा भिन्न रुपमा सार्वजनिक गरिएको छ । फिल्मको शीर्षक झैं पोष्टरमा पनि कुनै एक पात्रको हातलाई आक्रोशका रुपमा प्रस्तुत गरिएको छ ।
उक्त हातमा रहेको लकेटलाई हेर्दा हात आर्यनकै हो भन्ने चाहिँ निश्चित छ । हाल पोष्टप्रोडक्सनमा रहेको फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य, रमेश बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । सूर्य कार्की प्रस्ततकर्ता रहेको फिल्म फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता झमकनारायण घिमिरे र धनसिंह केसी हुन् ।
फिल्ममा किरण माइकलको कथा, अष्ट महर्जनको द्वन्द्व, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराजको नृत्य, अर्जुन पोखरेल, टंक बुढाथोकी र धिरज श्रेष्ठको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । निर्देशक निरौलाले यसअघि ‘विजयपथ’ र ‘राजनीति’ फिल्मको निर्देशन गरिसकेका छन् ।
