काम गर्न नसके राजीनामा गर्ने सुरेशको घोषणा


Suresh-Darpanग्ल्यामर नेपाल, काठमाडौं ।
गत साता नेपाल सरकारबाट चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका युवा फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले आफुले बोर्डमा रहेर तीन महिना भित्र काम गर्न नसके पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले तीन महिना भित्र बोर्डमा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनको स्वागतका लागि बोर्डमा आयोजित कार्यक्रममा सुरेशले दुई वर्षअघि करिब ४२ दिनसम्मको आन्दोलनले बोर्डमा नेतृत्व आएको स्मरण गर्दै त्यसबेलाका सञ्चारमन्त्री र बोर्ड अध्यक्षसँग भएको सहमतिलाई लागु गर्दै जाने दाबी गर्दै आफुले काम गर्न नसके कुर्सी फालिदिन पनि फिल्मकर्मी र सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले बोर्डमा सदस्यको बहाली लिएसँगै नेपाल चलचित्र निर्माता संघको प्रवक्ता पदबाट राजीनामा समेत दिएको बताए । फिल्मकर्मीहरुले बधाई दिएको कार्यक्रममा बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैताले बोर्डमा युवा व्यक्तिको आगामनले काम गर्नेलाई नयाँ जाँगर उत्पन्न भएको बताए । उनले विकास बोर्ड स्वायत्त नभएसम्म फिल्म सम्बन्धी काम गर्न समस्या हुने जनाए।

SUBSCRIBE 👉