सौगातको फिल्मले सेन्सरलाई रुवायो


Love-U-Babaग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी मंसीर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘लभ यु बाबा’ले सेन्सर बोर्डका सदस्यहरुलाई रुवाएको छ । सेन्सर बोर्डका अध्यक्षसहित सदस्यहरुले मंगलबार फिल्म हेरेका थिए । फिल्मका निर्देशक आठ वर्षे बालक सौगात विष्ट हुन्।

बोर्डकी सदस्य मेलिना मानन्धरले फिल्मका केही दृश्यले आफुलाई छोएपछि रोएको खुलाईन् । ‘सौगात सानो भए पनि उसको काम उत्कृष्ठ छ, फिल्ममा बाबु–छोरीको कथा रहेछ, केही दृश्यले म र सुरेशजी(सुरेशदर्पण पोखरेल)लाई रुवाईदियो, अन्य सदस्यहरुलाई प्रभाव कस्तो प¥यो, त्यो त थाहा भएन, तर हामी दुईलाई निकै भावुक बनाइदियो,’मेलिनाले भनिन्,‘सौगातको निर्देशकीय पक्ष राम्रो रहेछ ।’

अर्का सदस्य सुरेशदर्पण पोखरेलले पनि सौगातको कामको प्रशंसा गर्दै फेसबुकमा स्ट्याटस लेखेका छन् । ‘फिल्मले हामीलाई रुवायो, निकै मन छुने किसिमको फिल्म लाग्यो ।’ सुरेशले लेखेका छन् । फिल्मले बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । फिल्म मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरीबिचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सौगातका पिता गजितसहित निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, बसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेललगायतको अभिनय रहेको छ । गजितकै कथा रहेको फिल्ममा पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टको छ । दीपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाको गीत रहेको छ ।

फिल्ममा पत्रकार सुब्रत आचार्य र नायिका अनु अतिथि भूमिकामा छन् । डान्स फिभरको व्यानरमा निर्मित फिल्ममा सम्झना पोखरेल निर्माता तथा रोशनी बज्राचार्य सह–निर्माताका रुपमा रहेका छन् ।

SUBSCRIBE 👉