ग्ल्यामर नेपाल, काठमाडौँ ।
फिल्म ‘हाउ फन्नी’को शुभसाइत गरिएको छ। एभरेष्ट चाइल्ड केयर होम बनस्थली काठमाण्डौमा फिल्मको शुभसाइत गरिएको हो। फिल्मको शुभसाइत चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले गरेका थिए।
फिल्म शुभसाइत सँगै छायाँकन सुरु गरिएको छ। फिल्मको पहिलो टेकमा नायिका निशा अधिकारीले चाइल्ड केयरका बालबालिकाहरुलाई किताब, कपि तथा कलम वितरण गरेकी छिन। फिल्ममा नायिका निशा अधिकारीले काठमाडौंकी धनी बाउकी छोरीको भूमिकामा अभिनय गरेकी छिन्। फिल्ममा दयाहाड राई, प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही, शिशिर राणा लगायतका कलाकारले अभिनय गर्नेछन्।
निलु डोल्मा शेर्पाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘हाउ फन्नी’ को कार्यकारी निर्माता माल्भिका सुब्बा हुन्। फिल्ममा हरि हुमागाँइको छायांकन, शान बस्न्यातको पटकथा तथा संवाद छ।
कार्यकारी निर्माता सुब्बाले फिल्मको कथा पुरानै भएपनि प्रस्तुति नयाँ हुने बताइन्। फिल्मले दर्शकको समय र पैसाको पूर्ण रुपमा सदुपयोग हुन्छ भन्ने ग्यारेन्टी गर्न सक्ने सुब्बाले दाबी गरिन। निर्देशक निलुले फिल्म अध्ययनको ७ वर्षपछि निर्देशनमा हात हालेकोले सामाजिक संदेश बोकेको कमेडी कथामा आफुहरुले कुनै संझौता नै नगरि काम सुरु गरेको बताइन्।