मोडलिङ्ग देखि फिल्म सम्म निश्मा घिमिरे


Actress-Nishma-Ghimire-2
विराटनगरमा जन्मिएकी निश्मा घिमिरे नृत्यमा आधारित रियालिटी शोमा प्रतिस्पर्धा गर्दै मनोरञ्जन क्षेत्रमा आएकी हुन्। सन् २०१० मा सम्पन्न मिस्टर एन्ड मिस काठमाडौंकी प्रतिस्पर्धी निश्मा उक्त प्रतियोगिताको उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी थिइन्। थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेपछि निश्माले विकास आचार्यको चलचित्र ‘रिदम’ मार्फत नायिकाका रूपमा डेब्यु गरेकी थिइन्।

५ फिट ३ इन्च अग्ली निश्मा यतिबेला नायिकाका रूपमा स्थापित हुने क्रममा छिन्। नृत्यमा पारंगत निश्मा काठमाडौंमा भैरहेका चलचित्र एवार्ड समारोहहरूमा आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकको मन जितिरहेकी छिन्। निश्मा नृत्यको प्रशिक्षणमा समेत सक्रिय छिन्। नृत्य उनका लागि प्यासन मात्र होइन करियर पनि हो।

सुन्दर अनुहार, राम्राे अभिनय गर्न सक्ने क्षमता तथा नृत्यमा पारंगत हुँदा-हुँदै पनि निश्मा आशा गरिएअनुरूप चलचित्रमा व्यस्त हुन सकेकी छैनन्। कारण के हो त ? निश्मा भन्छिन् – ‘मलाई नृत्यप्रति बढी नै लगाव छ। म नृत्य सिकाउन र सिक्नमै व्यस्त रहन्छु। प्रस्ताव गरिएका चलचित्रमा आफूलाई चित्तबुझ्दो भूमिका भए मात्र अभिनय गर्छु। सम्भवतः यही कारणले मेरो हातमा धेरै चलचित्र पर्दैनन् कि ?’

निश्माले अभिनय गरेको नयाँ चलचित्र ‘लभ यू बाबा’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। यो चलचित्रमा उनी अभिनेता गजित विष्टकी प्रेमिकाको भूमिकामा प्रस्तुत भएकी छिन्। निश्माले भविष्यमा सफल अभिनेत्री तथा कुशल डान्स कोरियोग्राफर बन्ने लक्ष्य लिएकी छिन्।
– कृष्ण भट्टराई / तस्बिर: साजन राणा

SUBSCRIBE 👉