जिन्दगी रक्सलाई पौष संयोग


Zindagi-Rocks-1ग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी पौष १८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जिन्दगी रक्स’ का लागि पौष महिना संयोगको महिना परेको छ । यसै फिल्मबाट फिल्म निर्देशनमा डेब्यु गरेका निकेश खड्का, नायक सौरमराज तुलाधर र नायिका अकेशा विष्टको जन्म महिना पनि पौष नै हो । निर्देशक निकेशले बिहीबार राजधानीमा केही सञ्चारकर्मी बोलाई आफ्नो जन्मदिन मात्र मनाएनन् फिल्मका कलाकारलाई फिल्मी अनुभव सुनाउने मौका पनि दिए ।

‘हाम्रो लागि पौष महिना महत्वपूर्ण छ, त्यसकारणले पनि फिल्मले राम्रो व्यापार गर्नेमा ढुक्क छौं,’निर्देशक खड्काले भने,‘एकदिनको यात्रामा निस्केको युवा समूहले बाटोमा भोग्ने समस्यालाई फिल्मले प्रस्तुत गरेको छ ।’ पारिवारिकसँगै व्यावसायिक किसिमको फ्लेबर फिल्ममा भएकाले दर्शकले निर्धक्कका साथ मनोरञ्जन लिने उनको दाबी छ ।

Zindagi-Rocks-2नायक तुलाधरले फिल्ममा आफ्नो भूमिका प्लेब्वाईको जस्तो रहेको खुलाउँदै फिल्ममा अश्लिलता केही पनि नभएको बताए । नायिका विष्टले फिल्ममा आफु टम ब्वाईको जस्तो भूमिकामा देखिएको बताईन् । फिल्मी अभिनयमा कुनै रुची नभए पनि निर्देशक खड्काले सुनाएको स्क्रिप्ट मनपरेपछि फिल्ममा अभिनय गरेको जनाईन् । अर्का नायक सोनाम पाख्रिनले फिल्मको संगीत पक्षलाई पनि दर्शकले रुचाउने दाबी गरे ।

फिल्ममा ऋचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, विनोद मैनाली, विकी पुलामी र राजेन्द्र खड्गीको समेत अभिनय रहेको छ । काठमाडौं, पोखरा र चितवनका रमणीय स्थान र राजमार्गमा छायांकन गरिएको फिल्ममा सुगम पोखरेल, कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सञ्जीत श्रेष्ठको संगीत रहेको छ । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठले निर्माण गरेको फिल्ममा उमेश मर्हजनको द्वन्द्व र हरि हुमागाईको छायांकन छ । चलचित्रको सहनिर्देशन विनोद मैनालीले गरेका हुन् ।

SUBSCRIBE 👉