अभिनय, नृत्य र संगीतमा छात्रवृत्ति


Singerग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेत्री मनिषा कोइरालाकी हजुर आमा सुशिला कोइरालाको स्मृतिमा स्थापना गरिएको सुशिला आर्ट्स एकेडेमीले वर्ष २०१५ का लागि अभिनय, नृत्य तथा संगीत विधामा ९० वटा छात्रवृति प्रदान गर्ने घोषणा गरेको छ ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीकी निर्देशक युलिया कोइरालाले टाटा मोटर्सको सहयोगमा प्रदान गरिने छात्रवृत्तिहरुको घोषणा गरेकी हुन् । उनले बालबालिका तथा किशोर–किशोरीलाई विभिन्न चार वटा विधामा एक वर्षको छात्रवृत्ति प्रदान गरिने घोषणा गरिन् । उनका अनुसार नृत्यतर्फ क्लासिकल ब्यालेट, नेपाली नृत्य, कन्टेम्पोररी डान्स, फ्रिस्टाइल डान्स, कत्थक डान्स तथा क्लासिकल स्पानिस फ्लामेन्गो डान्सको विधामा छात्रवृत्ति प्रदान गरिने छ । यसबाहेक संगीत विधातर्फ भ्वाइलिन वादन, क्लासिकल गिटारवाद, सरोदवादन आदि विधामा प्रशिक्षणको छात्रवृत्ति प्रदान गरिनेछ । संगीतकार अल्मोडा उप्रेतीको नेतृत्वमा सुशिला आर्ट्स एकेडेमीको तर्फबाट नेपाली म्युजिक ब्याण्डलाई समेत छात्रवृत्ति प्रदान गरिनेछ । यसबाहेक अभिनयको विधामा कन्जरभेटोरी थिएटर प्रशिक्षणमा समेत छात्रवृत्ति प्रदान गरिनेछ । चित्रकलाका विद्यार्थीले समेत एक वर्षको छात्रवृत्ति पाउने बताइएको छ ।
Ladyसाढे दुई वर्षअघि काठमाडौंको मण्डिखाटार (धुम्बाराही) मा स्थापना गरिएको सुशिला आर्ट्स एकेडेमीले हरेक वर्ष प्रतिभाशाली बालबालिका तथा किशोरकिशोरीहरुलाई एक वर्षको छात्रवृत्तिको दिँदै आएको छ । ‘छात्रवृत्तिका लागि हामी आजैदेखि ती प्रतिभाहरुको खोजिमा उत्रिएका छौं,’ निर्देशक कोइरालाले भनिन्,‘ ९० वटा छात्रवृत्तिमध्ये ४० वटा छात्रवृत्ति टाटा मोटर्सले प्रदान गर्नेछ भने बाँकी ५० वटा छात्रवृत्ति सुशिला आर्ट्स एकडेमीले प्रदान गर्नेछ ।’

SUBSCRIBE 👉