नीर शाहले ‘सेतो बाघ’लाई सानो र ठुलो पर्दामा उतार्ने


nir-shah-seto-baghग्ल्यामर नेपाल, काठमाडौं । चर्चित साहित्यकार डायमण्ड शमशेर राणाको अमर कृति ‘सेतो बाघ’लाई नीर शाहले चलचित्र तथा टेलिचलचित्र उतार्ने भएका छन्। सरस्वती पुजाको अवसर पारेर मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त उपन्यासलाई पर्दामा उर्तान लागेको शाहले जानकारी दिएका हुन्। चलचित्रको छायाँकन आउँदो फागुनबाट सुरु हुने छ।

‘सेतो बाघ’ माथि शाहले ९१ भागको मेगा सिरियल र २ घण्टा ३० मिनेटको चलचित्र बनाउने भएका हुन्। चलचित्रमा भने लेखक राणाको अन्तिम ३० दिनको कथा समेटिने उनले जानकारी दिए। ऐतिहासिक फिल्म बनाउन माहिर निर्देशक शाहले उपन्यासको मर्म नमेटिने गरी पर्दामा उतार्ने दाबी गरे। दुई वर्षको अध्ययन र अनुसन्धानपश्चात फिल्म निर्माणको थालनी गरिएको उनले खुलाए।

चलचित्रको छायांकन काठमाडौ, चितवन र मकवानपुरमा गरिने भएको छ। चलचित्रमा शाहले थुप्रै नवकलाकार भित्रयाउने भएका छन्। अडिसनमार्फत छानिएका ५७ जना नयाँ अनुहारको चलचित्रमा अभिनय रहने भएको छ। जसमा अञ्जना कट्टेल, प्रमिला थापा, विनिशा सुवेदी, रेनु गौतम, संकृती कार्की, आस्था बजगाई, सुनिता सापकोटा, सुनिल जंग रायमाझी, रवि रोहण दाश, अविरल अधिकारी लगायतका कलाकार रहेका छन्। जंग बहादुर राणाको समयका पहिरन तयार पार्नु पर्ने भएकाले पनि यो मेघा सिरियल तथा चलचित्रको बजेट एक करोड लाग्ने निर्माणपक्षले जनाएको छ।

महाशक्ति मल्टी मिडिया प्राली र नीर सिनेमा प्रालीको प्रस्तुतीमा मंजुश्री राणा, पुरण राणा, रविन्द्र शमशेर राणा र डा. ख्याती राणाले चलचित्रको निर्माण गर्न लागेका हुन्। यो उपन्यासलाई न्याय दिन चलचित्र तथा टेलीचलचित्रमा परम्परागत सुकुलदेखि झल्लर एवं बहुमुल्य वस्तुहरुको समेत प्रयोगमा कुनै कन्जुस्याईं नगर्ने शाहको भनाई छ। चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत, संजय लामाको छायाँकन तथा निरा राणाको कला रहने छ। लक्ष्मण सेन र चन्द्र भट्टले शाहलाई निर्देशनमा सघाउँदैछन्। फिल्म तथा टेलिफिल्मको छायाँकन डेढ महिनामा सक्ने निर्माण पक्षको योजना छ।

शाहले यसअघि पनि ‘बसन्ती, ‘मसान’जस्ता ऐतिहासिक फिल्म निर्देशन गरेका थिए।

SUBSCRIBE 👉