ग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी माघ २ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘इच्छा’मा अभिनेता दयाहाङ राईलाई दर्शकले होटल साहुजीको भूमिकामा हेर्न पाउने भएका छन् । प्रायः फिल्ममा भिन्न भिन्न भूमिकामा देखिने दयाहाङलाई यो फिल्ममा पनि भिन्न भूमिकामा प्रस्तुत हुन लागेका हुन् ।
‘भूमिका जे–जस्तो भएपनि पात्र चाहिँ रेगुलर नै हो । कुनै एकदमै अप्ठ्यारो र नयाँ भन्दा पनि सँधै देखिने पात्रको रुपमै छु,’आफ्नो चरित्रबारे खुलाउँदै उनले भने,‘ मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन्, मैले पनि साथीहरुसँग त्यस्तै अपेक्षा गरेको हुन्छु । फिल्मभित्र माया प्रेम पनि छ ।’
उनले निर्देशक मुनाल घिमिरे र अभिनेता सुवास थापासँग काम गर्दा निकै सजिलो भएको खुलाए । ‘मुनालजीले मसँग काम गर्ने भनेर योजना बनाएर म कहाँ आउनुभयो, उहाँको प्रस्तावलाई मैले सहर्ष स्वीकारेँ,’उनले भने,‘ नाटकमासँगै अभिनय गरेपनि मैले सुवास थापासँग फिल्ममा काम गर्ने अवसर पाएको थिइन । सुवाससँग काम गर्दा रमाईलो भयो ।’ उनले फिल्म सामाजिक कथामा बनेकोले दर्शकले मनपराईदिनेमा विश्वास व्यक्त गरे ।