साँखुमा झोला हाउसफुल


Jhola-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
राजधानीको साँखुस्थित सालिनदीमा जारी ‘स्वस्थानी मेला’को अवसर पारेर विशेष प्रदर्शनको क्रममा रहेको फिल्म ‘झोला’ ले दर्शकको राम्रो साथ पाएको छ । स्वस्थानी कथा र फिल्म दुबै नारीको परिवेशसँग जोडिएकोले मेलाको अवसर पारेर एक महिने प्रदर्शनको क्रममा रहेको यो फिल्म हेर्ने दर्शकको भीड बढेको हो ।

गत पौष २१ बाट मेला सुरु भएसँगै प्रदर्शन सुरु गरिएको फिल्मको शोमा सुरुवाती दिनमा दर्शक मध्यम रुपमा उपस्थित भए पनि पछिल्लो चार दिन यता हरेक शो हाउसफुल बनेको निर्माता राज तिमिल्सिनाले बताए । दैनिक ५ शोको हिसावले अहिले फिल्म प्रदर्शन भईरहँदा दर्शकको बढ्दो चाख र मागले दैनिक रुपमा ७ शो चलाउन पर्ने स्थिती आएको पनि उनले जनाए ।

गत शनिबार फिल्मका निर्देशक यादवकुमार भट्टराई, निर्माताद्वय तिमिल्सिना र सुशिल शाह तथा अर्का निर्माता रामगोपाल थापा तथा केन्द्रिय अभिनयमा रहेका बाल कलाकार सुजल नेपालसँगै दर्शकले फिल्म हेरेका थिए । शो को लागी बाँसबाट कृतिम रुपमा सिनेमा हल निर्माण गरिएको छ । जहाँ एक पटकमा ५ सय जनाले फिल्म हेर्न सक्ने व्यवस्था छ ।

मेला आयोजक माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिसँगको सहकार्यमा फिल्म युनिटले एक महिनाको लागि दर्शकमाझ फिल्मको शो गरेको हो । मेला अवधीभर करिव ६० हजार दर्शकले फिल्म हेर्ने अपेक्षा निर्माण युनिटको छ । मेलामा हरेक बर्ष करिव ३० लाख श्रद्धालुहरुको उपस्थिती रहने मेला आयोजक समितिले जनाएको छ ।

SUBSCRIBE 👉