एल्बम निकाल्न अष्ट्रेलियाबाट नेपाल


Sujata-Singerकाठमाडौं । आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायिका सुजाता उपाध्याय मानन्धर हाल नयाँ एल्बम निकाल्नका लागि काठमाडौं आइपुगेकी छन् । सिड्नीमा बसेर संगीत क्षेत्रमा सक्रिय सुजाता एक फिल्ममा स्वर दिन र आफ्नै नयाँ एल्बम निकाल्न यतिबेला उनी राजधानीमा छिन् ।

‘संगीतको कुनै सीमाना हुँदैन्, त्यसैले पनि एल्बम निकाल्न र फिल्ममा गीत गाउन अष्ट्रेलियाबाट मातृभूमि आइपुगेकी छु ।’ उनले भनिन् । आमा गायिका भारती उपाध्यायको प्रेरणाले गायनमा लागेको बताउने सुजाताले ७ वर्षकै उमेरमा रेडियो नेपालमा बालगीत गाएर संगीत क्षेत्रमा आएकी थिईन् । उनले रेडियो नेपालमा गाएको बालगीत ‘साना–साना हात हाम्रा’ बालबालिकामाझ निकै लोकप्रिय बनेको थियो ।

पेसाले नर्स सुजाताले रेडियो नेपालमा रहँदा बालगीत र भजन गाए पनि पढाईको व्यस्तताले एल्बम निकाल्न नपाएको बताईन्। अष्ट्रेलियामै पनि आधा दर्जनभन्दा बढी गीत रेकर्ड गराएकी सुजाताले त्यहाँ गाएको ‘पोखिएर तिमी भरी’ बोलको गीत यु–ट्युबमा निकै लोकप्रिय छ । यस ओएसटी उनकी आमाले गाएकी हुन् ।

सुजाताले अष्ट्रेलियामै साथीहरुसँग मिलेर सन् २०१३ मा गीति एल्बम ‘तीन तारा’ ल्याएकी थिईन् । उनले ‘मै छोरी सुन्दरी’ सहित केही चर्चित गीतको रिमेक पनि गरेकी छन् ।

SUBSCRIBE 👉