सौगातले पाए गिनिज बुकको प्रमाणपत्र


Saugat-Gunieseकाठमाडौं । फिल्म ‘लभ यु बाबा’का निर्देशक सौगात विष्टले विश्वकै सबैभन्दा कान्छो निर्देशकको रुपमा शुक्रबार गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र पाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले उनलाई पत्रकार तथा फिल्मकर्मीमाझ गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरेका हुन् ।

सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा फिल्म निर्देशन गरेका थिए । प्रमाणपत्र पाएपछि उनले आफु खुशी र दुःखी दुवै बनेको बताए । ‘आज यो प्रमाणपत्र पाउँदा, म र मेरो फिल्मको टिममात्र होईन्, हरेक नेपाली खुशी भएका छन्,’सौगातले भने, ‘तर मैले फिल्म निर्देशन गर्छु भन्दा धेरै जना फिल्मकर्मीले पनि मेरो काम पत्याईदिनु भएन, दर्शकहरुले पनि नपत्याएर फिल्म हेरिदिनु भएन, मेरो लागि यो निकै दुःखको कुरा थियो ।’ उनले सबैले फिल्म पुनः हेर्नेमा आशा व्यक्त गर्दै फिल्म हेर्ने वातावरण मिलाईदिन हल सञ्चालक तथा वितरकलाई अनुरोध गरे । ‘यो खुशीको माहौलमा तपाईहरुले पुनः एकपटक फिल्म हेर्ने वातावरण मिलाईदिनु होला भन्नेमा हामी विश्वस्त छौं ।’ सौगातले भने ।

Saugat-Certificateसञ्चारमन्त्री रिजालले सौगातको काम सबैलाई आश्चर्य लाग्दो भएको बताउँदै उनलाई बधाई दिएका थिए । ‘जुन विश्वासका साथ सौगातको टिमले फिल्म बनायो, तर त्यसको प्रतिफल राम्रो हुने सकेन, यो दुःखको कुरा हो,’ रिजालले भने, ‘अब त्यो विश्वासको वातावरण बनाउने बेला आएको छ, यसमा सबैले ध्यान दिन आवश्यक छ ।’ उनले सरकारको तर्फबाट पनि सौगातको सम्मानका लागि पहल गर्ने आश्वासन दिए ।

फिल्मकी प्रमुख कलाकार तथा सौगातकी दिदी संगम विष्टले भाईको कामले परिवारमा खुशी दिलाएको जनाउँदै दर्शकलाई भाईको काम पत्याएर फिल्म हेरिदिन आग्रह गरिन् ।

गत मंसीर २६ मा प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा व्यापारिक सफलता हासिल गर्न सकेको थिएन् । कार्यक्रममा सौगातका बुवा अभिनेता गजितले छोराले पाएको सफलताले फिल्म निर्माणमा उपलब्धि हाँसिल गरेको बताए । कार्यक्रममा सौगातले फिल्म निर्देशन गर्दा गरेका कामहरुको भिडियो देखाइएको थियो ।

SUBSCRIBE 👉