अष्ट्रेलियामा संगीतमा रमाउँदै प्रजिता


Prajeeta Gelalकाठमाडौं । आठ वर्ष अघि अध्ययनको लागि अष्ट्रेलिया पुगेकी गायिका प्रजिता गेलाल आफुलाई संगीत कर्ममा सक्रिय बनाईरहेकी छन् । बाल्यकालदेखि नै गायनमा रुची राख्ने सुनसरीकी उनले अष्ट्रेलियामा रहेर नै आठ वर्षको अन्तरमा तीनवटा एल्बम नेपाली स्रोतामाझ दिईसकेकी छन् ।

नेपालमा आउँदा विश्वासिलो मान्छेसँग काम गर्न रुचाउने उनले सन् २०११ मा डेब्यु एल्बम ‘स्टिल लभिङ यु’ श्रोतामाझ ल्याईन्। यो एल्बममा रहेको ‘चञ्चल चञ्चल’ र ‘तिम्रै लागि’ बोलको गीतले बजारमा श्रोताको मन जितेको थियो र उनी ‘चञ्चल चञ्चल’ बोलको गीतबाट नै चिनिईन् । ‘म आफु अलिक चञ्चल किसिमको भएर पनि होला गीत नै त्यही किसिमको राखेकी हुँ, मलाई चञ्चल गर्ल भनेर बोलाउन थालियो,’ प्रजिताले भनिन्, ‘यो एल्बममा मेलोडियससँगै डान्सिङ फ्लेबरका पप गीत छन् ।’ यो एल्बममा उनले एउटा राष्ट्रिय गीत पनि राखेकी छन् ।

पहिलो एल्बम ल्याएको एक वर्ष बित्न नपाउँदै सन् २०१२ मा उनले ‘झुमीझुमी’ एल्बम ल्याईन् । उक्त एल्बम पनि वर्षको राम्रै एल्बम साबित भयो । यसमा रहेको गीत ‘रात’ र ‘झरी’ पनि कम हिट भएन । ‘झुमीझुमी गीत चलेपछि मलाई सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका लागि अफर पनि आउन थाले ।’ उनले खुलाईन् । दोस्रो एल्बममा रक पप फ्लेबरका गीत छन् ।

प्रजिताले २०१५ को जनवरीमा तेस्रो एल्बम ‘प्रजिता–आइ एम ए ब्युटिफूल गर्ल’ बजारमा ल्याईन् । । यसको शीर्ष गीतले पनि श्रोताको मन जित्दै गएको प्रजिताको दाबी छ । यसमा रहेको ‘गारो भयो मलाई आफ्नो वैश सम्हाल्न’ गीत डान्सिङ नम्बरको छ ।

‘नेपालमा आएर काम गर्नका लागि संगीतकारदेखि स्टुडियोको समय पहिल्यै नै बुक गरिसक्छु ।’ उनले भनिन्, ‘नेपाल आउनु ६–७ महिना अघिदेखि नै यहाँ प्राक्टिस गर्छु, आफ्नो स्वरमा कन्फिडेन्स भएपछि नेपालमा रेकर्ड गराउँछु ।’ उनले आफ्नो एल्बमहरुमा धर्मेन्द्र सेवान, प्रविण श्रेष्ठ, योगेन्द्रमणि दाहाल, जोहेब मानन्धर र शैलेश अधिकारीलगायतको रचना समेटेकी छन् भने संगीत चाहिँ शैलेश, धर्मेन्द्र, जोहेब र प्रविणकै छ ।
Prajeeta Gelalसांगीतिक करियरमा आफ्नो कोही पनि गुरु नरहेको बताउने प्रजिताले साथीहरुको प्रोत्साहन र आफ्नो मेहनतले गायिका बनेको जनाईन् । गायिका मात्र बनेर चिनिन चाहने प्रजितालाई अरुणा लामा, आशा भोशले, लता मंगेशकर, नारायण गोपाल, जगजीत सिंहका गीत मनपर्छन् । ‘आशा भोस्लेको गीत त मेरै लागि गाईदिएको हो कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘भोकल प्राक्टिस गर्दा पनि बढी आशाकै गीत लिन्छु ।’

प्रजिता अष्ट्रेलियामा संगीतका अलावा सामाजिक काममा पनि सक्रिय छिन् । नेपालमा हुने प्राकृतिक प्रकोपमा परेका पीडित परिवारदेखि, आर्थिक अवस्था न्यून भएर उपचार गराउन नपाएका विपन्न समुदायका मानिसहरुलाई पनि खर्च जुटाउने काममा सक्रिय छिन् ।

SUBSCRIBE 👉