बुलु मुकारुङको पुस्तक र एल्बम सार्वजनिक


काठमाडौं । संगीतकार बुलु मुकारुङले डेढ दशक लगाएर प्रकाशन गरेको पुस्तक ‘नेपाली संगीतको अभिलेख’ र उनकै एकल संगीत रहेको एक दर्जन गीति एल्बम सार्वजनिक भएको छ । राजधानीमा मंगलबार सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले पुस्तक र एल्बम सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री सुशिल कोइरालाले सार्वजनिक गर्ने कार्यक्रम राखिए पनि अन्तिम अवस्थामा आएर उनी उपस्थित हुन नसकेपछि रिजालले सार्वजनिक गरेका हुन् ।

Bulu Mukarungमन्त्री मीनेन्द्रले संगीत क्षेत्रमा अनुसन्धानको खाँचो औंल्याउँदै बुलुको क्षमता अतुलनीय रहेको दाबी गरे । स्रष्टा बुलुले पुस्तकमा मल्ल, लिच्छवीकालदेखि हालसम्म संगीत विधामा भएका गतिविधिको तथ्य संकलन गरिएको दाबी गरे । सिक्किमबाट यसअघि निर्माण प्रकाशनले छापिसकेको पुस्तकको दोस्रो संस्करण नेपालमा पाल्पा बुक्सले छापेको हो ।

बुलुकै एकल संगीतमा १२ गीति एल्बम पनि सार्वजनिक गरियो । नेपालका प्रसिद्ध रचनाकारहरुको शब्द रहेको ‘घराना–२’, स्नेहा पोखरेलको ‘नारी तिमी’, कमलसिंह कार्कीको ‘मुटुमा राखेको मान्छे’, सुरेश घिमिरेको ‘सुदीपन’, राधेश्याम लेकालीको ‘आगत’, लक्ष्मी उप्रेतीको ‘जिन्दगीको बाटो’, जलेश्वरी श्रेष्ठको ‘चुम्बनबाट’, वशुश्री पाण्डेको ‘यो मनको कुरा’, नरेन्द्रबहादुर श्रेष्ठको ‘अधरको मुस्कान’, बीरु वाङदलेलको ‘कैले कैले…’ लगायतका एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा निशा देशार, आभा मुकारुङ, विश्व नेपालीले एल्बमका गीतहरु सुनाए भने निरु खड्का र रोमा न्यौपानेले नृत्य गरेका थिए ।

SUBSCRIBE 👉