गोपीकृष्ण मुभिजले अर्को नयाँ फिल्म ‘यो पागल मन’को घोषणा गरेको छ। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा फिल्मको मुहुर्त गरिएको छ। राजदेवी प्रोडक्सन इन्टरटेनमेन्टले गोपीकृष्ण मुभिजसँग सहकार्य गर्दै फिल्म बनाउन लागेको हो।
गोपीकृष्ण मुभिजका अध्यक्ष उद्धव पौडेलले सन् २०१५ भित्र आफ्नो व्यानरमा सातवटा फिल्म निर्माण गर्ने घोषणा गरे अनुरुप तेस्रो फिल्म बनाउन लागिएको जानकारी दिए। ‘यो फिल्म (यो पागल मन) मैले आफैले निर्देशन गर्छु भन्ने सोचेर दर्ता पनि गरेको थिएँ, तर व्यस्तताले गर्न पाईन,’उद्धवले भने,‘ हामीले नेपाली फिल्मलाई अझ व्यावसायिकता दिन पनि फिल्म निर्माणको क्रमलाई निरन्तरता दिईरहेका छौं।’
यसै फिल्मबाट निर्देशकका रुपमा डेब्यु गर्न लागेका कैलाश अधिकारीले फिल्मले लभ, कमेडी र रोमान्सलाई प्राथमिकता दिने बताए । अधिकारी फिल्म ‘होमवर्क’मा मुख्य सहायक निर्देशकसमेत हुन्। वैशाख १५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा गौरी मल्ल, सगुन शाही, वर्षा शिवाकोटी, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहनेछ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत, कविराज गहतराजको नृत्य, राजेशपायल राई, स्वरुप राज आचार्य, अञ्जु पन्त, दुर्गा खरेल र भुवन प्यासीको स्वर तथा शम्भु सापकोटाको छायांकन रहनेछ । फिल्मको छायांकन चितवन, हेटौडा र नारायणघाटमा हुनेछ।