देशका लागि योगदान गर्ने युवा खोज्दै चंखे शंखे पंखे


  • चंखे शंखे पंखे फिल्म युनिटले देशका लागि योगदान गर्न सक्ने तीन युवा खोज्ने  
  • देशका आठ शहरमा अन्तर स्कुल कलेज प्रतियोगिता
  • वैशाख ११ देखि धनगढीबाट अडिसन शुरु
  • कार्यक्रममा करिब ५ हजार विद्यार्थीहरुकेा सहभागीता लक्ष्य

chankhe shanke pankheआगामी जेठ १ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘चंखे शंखे पंखे’ले देशका लागि योगदान गर्न सक्ने तीन युवा नेतृत्व छान्ने भएको छ। फिल्मका निर्देशक सुदर्शन थापाका अनुसार देशमा युवा नेतृत्वको आवश्यकता औल्याउदै फिल्म युनिटले देशका विभिन्न स्थानमा अडिसन लिई युवाको छनौंट गर्नेछ।

निर्देशक थापाले ‘पब्लिक स्पिकर नेपाल, आजको वक्तृत्व, भोलिको नेतृत्व’ थिमका साथ राजधानीसहित मोफसलका आठ शहरमा अन्तर स्कुल कलेज प्रतियोगिता गरी उत्कृष्ठ १० युवा छानिने बताए। ‘हाम्रो फिल्म पनि युवाकै विषयमा केन्दि्रत रहेर बनेको छ, त्यसकारण पनि हामीले युवावर्गलाई प्राथमिकतमा राखेका हौं,’राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेतासमेत रहेका सुदर्शनले भने,’हामी बिहीबारबाट कार्यक्रमको लागि देश दौडाहामा निस्कनेछौं।’ सुदर्शनका अनुसार मोफसलका धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, दमक, धरान र विराटनगरमा प्रतियोगिता हुनेछ।

वैशाख २९ गते राजधानीमा हुने ग्राण्ड फिनालेमा मोफसलका प्रत्येक स्थानबाट छनौंट भएका एक प्रतियोगी र राजधानीबाट छनौंट भएका दुई प्रतियोगी गरी जम्मा १० प्रतियोगीबीच निर्णायक प्रतिष्पर्धा हुनेछ। प्रतियोगितामा कक्षा ९ देखि स्नातकसम्म अध्ययनरत जोकोही विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

‘प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगीका लागि शीर्षक एउटै राखिएकाले कक्षा ९ र १० का विद्यार्थीहरुलाई आयोजकले ३० अंक पहिले नै दिएर सहभागी गराउनेछ,’फिल्म युनिटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कक्षा ११ र १२ का विद्यार्थीहरुलाई २० अंक र स्नातक तहका विद्यार्थीहरुलाई १० अंक दिएर सहभागी गराइनेछ।’

प्रतियोगिताको आयोजना एक्रेटिभ मिडिया प्रालिले गर्नेछ भने वीआर डीसी र ह्वाइट हाउस कलेज पावर पार्टनरको रुपमा रहनेछ । एक्रेटिभ मिडियाले महानायक राजेश हमालद्वारा सञ्चालित चर्चित टेलिभिजन कार्यक्रम ‘क्वीज मेनिया सिजन ४’को आयोजना गरिसकेको छ । पत्रकार सम्मेलनमा ह्वाइट हाउस कलेजका अध्यक्ष युवराज शर्माले युवाहरुले नै देशलाई सकारात्मक दिशातर्फ लैजाने भएकाले देशमा युवा नेतृत्वको लागि फिल्मले चालेको अभियानलाई आफुहरुले सहयोग गरेको खुलाए।

आयोजकका अनुसार करिब ५ हजार विद्यार्थीहरुकेा सहभािगता लक्ष्य राखिएको कार्यक्रमका लागि वैशाख ११ देखि धनगढीबाट अडिसन शुरु हुनेछ । प्रतियोगिता पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

SUBSCRIBE 👉