प्रदर्शन मितिलाई पर सार्दै भुकम्प पिडितको सहयोगमा ‘होस्टेल रिटर्नस’ निर्माण युनिट


महाभूकम्प गएदेखि गाउँ गाउँ पुगेर पीडितलाई विभिन्न किसिमका राहत प्रदान गर्दै आएको चर्चित फिल्म व्यानर दुर्गिस फिल्म्सले सन्त निरंकारी मण्डल संग सहकार्य गर्दै प्रधानमन्त्री दैविक उद्धार कोषमा सोमबार पाँच लाख रुपैंयाा जम्मा गरेकेा छ । ‘सायद’ र ‘होस्टेल’ जस्ता सुपर हिट फिल्म निर्माण गरिसकेको यो व्यानरको अर्को नयाँ फिल्म ‘होस्टेल रिटर्नस’ प्रदर्शनको तयारी अवस्थामा छ भने महाभूकम्प आएपछि फिल्मको प्रदर्शन मिति लाई पर सार्दै राहत वितरणमा सक्रिय भएको छ।
sunil rawalप्रधानमन्त्री निवास बालुवाटारमा सन्त निरंकारी मण्डल नेपालका प्रमुख नरबहादुर रावल, सचिब अनिल महर्जन, उपाधक्ष्य कृष्ण पन्त, दुर्गिश फिल्मसका निर्माता सुनिल रावलले प्रधानमन्त्री सुशिल केाइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइरालालाई चेक हस्तान्तरण गरेका थिए। ‘हामी सहयोगी भावनाका साथ अगाडी बढ्दैछौं, सेवाको साथ नै अगाडी बढ्ने पनि छौ, हिजो आज र भोलि हामि यस दैविक बिपत्तिमा परेका जनहरुलाई सहयोग गर्नेछौ।’ चेक हस्तान्तरण पछि मण्डलका अध्यक्ष रावलले भने। निर्माता रावलले बिपतको बेला युवा जोश र जाागर कायम गर्दै निराश नभई काम गर्न आग्रह गरेका थिए।

निर्माता रावलका अनुसार उपत्यकाका महाभूकम्प पिडित क्षेत्र नाग्लेभारे, काभ्रेस्थली, रामकोट लगायतका विभिन्न ठाउँमा गएर राहत वितरण गरिसकिएको छ। यो व्यानरले सन्त निरंकारी मण्डल नेपालसाग सहकार्य गर्दै गत सोमबार करिब २१ लाख बराबरको राहत सामग्री ललितपुर जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको थियो।

‘हामीले सोमबार नै भक्तपुरको सुडाल गाविसमा ३६ ओटा त्रिपाल, गोदावरीको कोट गाबिसमा २ सय थान त्रिपाल र ब्ल्यांकेट वितरण गरिसकेका छौं,’रावलले भने, ‘हामी सहयोग र राहत बितरणमा नै लाग्ने छौ, मंगलबार काभ्रेको बिकट गाउँहरुमा जाने र बुधबार कुरिनटारको चेपांग बस्ति लगायत गोर्खा सम्म पुग्ने योजना बनेको छ।’

यसैबीच दुर्गिस फिल्म्सले फिल्मका प्राबिधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राबिधिक संघलाई ३० थान त्रिपाल लगायतका राहत सामाग्री हस्तान्तरण गरेको छ।

SUBSCRIBE 👉