कान्तिपुर वर्षका दश उत्कृष्ट व्यक्तिमा हरिवंश र रेखा


ग्ल्यामर नेपाल, काठमाडौं । नेपालको प्रतिष्ठित दैनिक अखबार कान्तिपुरले सार्वजनिक गरेको वर्षका दश उत्कृष्ट व्यक्तिको सूचीमा कला क्षेत्रका दुई जना परेको छ । आफ्नो एक्कासौं वार्षिक उत्सवको अवसरमा कान्तिपुरले सार्वजनिक गरेको सूचीमा विख्यात कलाकार हरिवंश आचार्य र नायिका रेखा थापा परेका हुन् । उक्त सूचीमा युवा नेता गगन थापा, क्रिकेटर पारस खड्का, लेखिका झमक घिमिरे, चिकित्सक गोविन्द केसी, अख्तियार प्रमुख लोकमानसिंह कार्की, बैंक सञ्चालक चन्द्रप्रसाद ढकाल र गाउँले वैज्ञानिक महाविर पुन पनि परेका छन् ।

haribansha-and-rekha

Haribansha Acharya and Rekha Thapa

हरिवंशले ९ हजार ५ सय २० फेसबुक प्रयोगकर्ताको लाइक पाएका छन् । ‘हरिवंश आचार्य एउटै विधामा सिमित छैनन् । अभिनयमा मात्रै पनि उनले धेरै चरित्रलाई स्मरणीय बनाइदिएका छन्,’ कान्तिपुरले लेखेको छ, ‘नेपाली रंगमञ्च र टेलिभिजनमा मदनकृष्ण श्रेष्ठसँग मिलेर हरिवंशले निमार्ण गरेको उचाई सायदै कसैले पाएको छ ।’ मह जोडीले तीन घण्टाको ‘मह यात्रा’ हास्यव्यंग्य कार्यक्रम काठमाडौंदेखि देशकै ठूल्ठूला सहरमा गर्ने तयारि गरिरहेको छ । यसका साथै हाल हरिवंश एउटा फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । मह यात्रा सकिए लगत्तै उक्त चलचित्रको छाँयाकन सुरु हुनेछ । पूर्णमनोरञ्जनात्मक विधाको उक्त फिल्मलाई मह सञ्चारले निर्माण गर्ने बताइएको छ ।

कान्तिपुर वर्षका दश सूचीमा परेकी नायिका रेखाले २६ हजार ९ सय ३६ फेसबुक लाइक पाएकी छिन् । हिरोको मात्र स्टारडम भएको नेपाली फिल्म उद्योगमा रेखा थापा आफैं ‘हिरो’ भएको कान्तिपुरको दाबी छ । ‘एक दशकमा सयभन्दा बढी फिल्म खेलेकी रेखा नेपाली समाजमा उर्लिरहेको महिला सशक्तिकरणको एउटा उदाहरणको रुपमा उदाएकी छिन्,’ कान्तिपुरले लेखेको छ । यो वर्ष रेखाले ‘काली’को सफलता र रेखा थापा फाउन्डेसनको स्थापनाबाट अत्याधिक चर्चा कमाएकी छिन् । उनको सामाजिक सेवाले राष्ट्रिय चर्चा पाइरहेको छ । अघिल्लो वर्ष छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी रेखा हाल ‘हिम्मतवाली’ नामक फिल्मको निर्माणमा जुटेकी छिन् । अब विवाह गर्ने सोच नरहेको बताउने उनी एक्लै भएपछि दायित्व अझ बढेको महसुस भइरहेको दाबी गर्छिन् ।

SUBSCRIBE 👉