गम्भीर अभिनय रुचाउने रवि


काठमाडौं । फिल्मी अभिनयमा पछिल्लो समयमा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । खास गरी फिल्ममा हिरो बन्नकै लागि युवाहरु मरिहत्ते गरेर आउन थालेका छन् । सिन्धुली रातामाटाका युवा रवि आचार्य पनि यस्तै एक युवा हुन्, जो एक वर्ष अघिबाट अभिनयमा छिरे पनि अनुभवी हिरोका रुपमा फिल्म क्षेत्रमा छाउन संघर्षरत छन् ।Rabi Acharyaएबी फिल्मस्मा काम गर्दा कलाकार सुरज आरडीसँग निकट भए पछि उनलाई अभिनयको भुत चढेको रहेछ । सुरजको केही म्युजिक भिडियोमा अभिनय गरेपछि उनले फिल्म ‘सुनामी’मार्फत फिल्मी अभिनयमा डेब्यु गरे । यो फिल्म पछि ‘फाइट क्लब’मा अभिनय गरेका उनले गत वर्ष रिलिज हिट फिल्म ‘नाइ नभन्नु ल ३’मा छोटो भूमिकामा अभिनय गरेका थिए ।

निर्देशक तथा लेखक विकास आचार्यसँग निकट रहेका उनी ‘नाइ नभन्नु ल ४’ मा पनि अभिनयको तयारी गर्दैछन् । ‘विकास दाईसँग पहिल्यैदेखि चिनजान थियो, फिल्मको रेकर्डिङका क्रममा भेट भएपछि फिल्ममा काम गर्ने अफर गर्नुभयो,’उनले भने,‘सानैदेखि नेपाली फिल्म हेर्ने बानीले गर्दा अभिनय तिर चासो बढ्यो ।’
Rabi Acharyaम्युजिक भिडियोको अभिनयबाट फिल्मतिर छिरेका उनले प्रमोद खरेलको स्वर रहेको ‘सजियौ नि डोली’, रमण गायकको ‘मिलनको हाँसो’लगायतका भिडियोमा अभिनय गरेका छन् । अभिनेता जीवन लुँइटेलको गम्भीरपना र आर्यन सिग्देलको चकलेटी शैली मनपराउने रविलाई अभिनेत्रीमा चाहिँ गरिमा पन्तको अभिनय मनपर्दो रहेछ । विद्यालयमा छँदा गीत गाउने रवि अहिले गायनलाई भन्दा पनि अभिनयलाई नै प्राथमिकता दिईरहेका छन् ।

युनिभर्सल कलेजमा बीबीएसको अध्ययन गरिरहेका उनले बागबजार कला केन्द्रमा उत्तम केसीबाट दुई महिने अभिनयको कोर्ष लिईसकेका छन् । ‘म अलिक गम्भीर किसिमको भूमिकामा अभिनय गर्न चाहन्छु,’उनले भने,‘किनकी त्यसमा बढी फिलिङ दिन सक्छु जस्तो लाग्छ ।’

SUBSCRIBE 👉