‘नोभेम्बर रेन’लाई एकल प्रदर्शन गराउन नेफ्टाको आग्रह


november-rain

November Rain

ग्ल्यामर नेपाल, काठमाडौं । आर्यन सिग्देल निर्माण गरेको पहिलो फिल्म ‘नोभेम्बर रेन’लाई एकल रिलिजको व्यवस्था मिलाइदिन नेपाल प्राविधिक संघले आग्रह गरेको छ। संघका महासचिव अनन्त तिमिल्सिनाले विज्ञप्ती जारी गरेरै फिल्मप्रति सहानुभूति पोखेका हुन्। आर्यन र नम्रताले रोमान्स गरेको यो फिल्म चैत्र १४ गते प्रदर्शन हुँदैछ। तर आर्यनको कारण नभई अर्का निर्माता सुवास गिरीको कारण संघले आधिकारिक रुपमै ‘नोभेम्बर रेन’को पक्षमा बोलेको बताइएको छ। केही समय अगाडि संघले मलेसियामा आयोजना गरेको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’मा गिरीले निकै सहयोग गरेका थिए। अहिले संघले त्यसकै गुन तिरेको चर्चा चल्न थालेको छ।
विज्ञप्तीमा सुवासले नेपाली सिने बजारलाई अन्तर्राष्ट्रय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्पूर्ण संघसंस्था, हल सञ्चालक, निर्माता, निर्देशकसँग ‘नोभेम्बर रेन’लाई एकल रिलिजको आग्रह गरिएको छ। साथै फिल्मलाई सफलताको शुभकामना पनि दिएको छ। सिनेमाले नेपाली सिने बजारमा इतिहास रच्ने संघको विश्वास छ।

आर्यन र नम्रतासँगै छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको ‘नोभेम्बर रेन’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। दिनेशले यसअघि ‘आई एम सरी’ निर्देशन गरेका थिए।

SUBSCRIBE 👉