भूकम्प पीडितका लागि अमेरिकामा सांगीतिक धमाका


Astha-Rautकाठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा सेप्टेम्बर ४ मा हुन लागेको नेप्लिज एसोसियसन अफ साउथ इष्ट अमेरिका र एसोसियसन अफ नेप्लिज मिड इष्ट अमेरिकाको एघारौं संयुक्त सम्मेलनमा ‘सांगीतिक धमाका’ हुने भएको छ।

सेप्टेम्बर ५ मा ग्रिन्सबोरोस्थित होटल एम्बेसी स्विटमा ‘लाइभ म्युजिक कन्सर्ट एण्ड डिजे’ शिर्षकमा करिब आधा दर्जन गायकगायिकाले सांगीतिक प्रस्तुति दिने भएका हुन्। साँस्कृतिक कमिटिका संयोजक विशाल भारतीका अनुसार उक्त कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, गायक रामकृष्ण ढकाल, सत्य–स्वरूप आचार्य, गायिका आस्था राउत र डिजे गोर्खालीले सांगीतिक प्रस्तुति दिनेछन्।

आवर वन ट्रेन्ड नेप्लिज कमिटि सेन्टरको आयोजनामा हुने सांगीतिक कार्यक्रम नेपालको पुनर्निर्माणमा केन्द्रित हुने सांस्कृतिक कमिटिका सह–संयोजक नागेन सोताङले बताए। ‘हेल्प अस रिब्लुड नेपाल सेभ द लस्ट एट एनी कष्ट’को नारामा आयोजना गर्न लागिएको उक्त कन्सर्टका लागि २० डलर टिकेट राखिएको छ।

सांगीतिक कार्यक्रम बाट संकलित रकम नेपालको पुनर्निर्माणमा खर्च गरिने संयोजक भारतीले जनाए । भारतीले यस अघि पनि गत बैशाख १२ को विनासकारी भूकम्पका पीडितहरुका लागि उनी कार्यरत बैंकबाट एक करोड रुपैया नेपाल सरकारलाई सहयोग गरेका थिए।

SUBSCRIBE 👉