लभ सबमा त्रिकोणात्मक प्रेम


काठमाडौं । फिल्म निर्माताद्वय सुशिल पोखरेल र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेको फिल्म ‘लब सब’ पनि युवा दर्शकलाई लक्षित गर्दै आगामी भदौ २५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
Love Subफिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका विविध पक्षबारे जानकारी गरायो । फिल्मका निर्देशक देवकुमार श्रेष्ठले फिल्मले विशेषत प्रेम र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई प्रस्तुत गरेको बताए । निर्माता पोखरेलले आफुले यसअघि एक्सन फ्लेबरका फिल्मलाई प्राथमिकता दिईरहेकोमा यसपटक चाहिँ भिन्न स्वादको प्रेमकथालाई प्रस्तुत गरिएको दाबी गरे । अर्का निर्माता महर्जनले फिल्म राम्रो बने पनि देशको राजनीतिक अवस्थाका कारण फिल्मको व्यापारमा पर्न सक्ने असर प्रति डर लागेको जनाए ।

कलाकार संयम पुरीले फिल्ममा आफु नबोल्ने पात्रको भूमिकामा प्रस्तुत भएको बताउँदा अर्का अभिनेता सलोन बस्नेतले आफु फिल्ममा टोले डनको भूमिका देखिने खुलाए । यस्तै नायिका करिश्मा श्रेष्ठले आफु पढेलेखेको र धनी पिताको सन्तानको भूमिकामा फिल्ममा देखिएको जनाईन् । अर्का पात्र शिशिर भण्डारीले डाक्टर बन्ने सपना बोकेर काठमाडौं आउँदा त्यो सपना पुरा नभएपछि जुत्ता सिलाउने काममा संलग्न हुने चरित्रमा प्रस्तुत हुने बताए । फिल्ममा संयम, सलोन र शिशिरले करिश्मालाई मनपराउँछन् ।

हरि ओम सिने मेकर्सको व्यानरमा निर्मित फिल्ममा सुशिल कर्माचार्यको संगीत, साम्तेन भुटियाको लेखन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछानेको नृत्य, सुशिल पोखरेलको संवाद, विपिन मल्लको सम्पादन र कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉