रोजले बनाउने भए फिल्म


काठमाडौं । चार बर्ष अघि रिलिज भएको फिल्म ’म छु नि तिम्रो’ ले व्यावसायिक सफलता नपाएपछि फिल्म निर्माणमा सुस्ताएका निर्माता रोज राणाले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । नाम सार्वजनिक नभएको पूर्णरुपमा लभस्टोरी जनराको फिल्मका लागि संगीतकारका रुपमा महेश खड्का अनुबन्धित भएका छन् ।

‘पहिले महेशजी पनि हिट संगीतकार हुनुहुन्थयो अनि म पनि त्यस्तै प्रोड्यूसर थिएँ, त्यसैले दुवैको कमब्याक हुनेगरी नयाँ फिल्म निर्माणको घोषणा गरेको हुँ ।’ राणाले भने । उनले निर्माण गरेका छमध्ये ५ वटा फिल्म नेपाली बक्स अफिसमा लगातार हिट भएका थिए भने संगीतकार खड्काका संगीत पनि उत्तिकै हिट हुने गरेका थिए ।
Roj-Ranaसंगीतकार खड्काले पनि फिल्म संगीतमा आफू सुस्ताएपनि अब नयाँ तरिकाले अघि बढ्ने भन्दै पुरानो क्रेजलाई फर्काउने दाबी गरेका छन् । निर्माता राणाका अनुसार फिल्मका निर्देशन चाहिँ केही दिनमा फाइनल हुनेछन् । नयाँ र पूराना कलाकारहरुको संयोजनमा नयाँ फिल्मको तयारी गरेको बताउने उनले अष्ट्रेलियामा बस्ने एनआरएन मिलन श्रेष्ठलाई निर्माता पार्टनरका रुपमा लिएका छन् ।

नयाँ फिल्म बनाउँने भएपछि यस अघि घोषणा गरिएको ‘हिरोइन’ प्रोजेक्टलाई रोकेको निर्माता राणाले जनाए । ‘हिरोइनको स्क्रिप्ट सात पटकसम्म सम्पादन गर्दै फाईनल गरिएको थियो तर फिल्म ईन्डष्ट्रीको कथा बक्स अफिसमा नरुचाईने समीक्षा भएपछि सो प्रोजेक्ट सदाका लागि स्थगित गरियो ।’ उनले भने ।

SUBSCRIBE 👉