भबिन र होमनाथको फ्युजन गीतहरुको एल्बम ‘होराइजन’ सार्वजनिक


bhabin-homnath-horizon
गीतकार होमनाथ न्यौपानेको एकल शब्द तथा गायक भबिन ढुंगानाको एकल स्वरहरु समावेश गरिएको पप, आधुनिक तथा शास्त्रीय शैलीका फ्युजन गीतहरुको एल्बम ‘होराइजन’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ। वरिष्ठ गीतकार दिनेश अधिकारी तथा संगीतकार दीपक जंगमले उक्त एल्बम सार्वजनिक गरेका हुन्।

शास्त्रीय गायनमा भारतको नयाँ दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर (गोल्ड मेडलिष्ट) गरेका गायक भबिनको यो डेब्यू एल्बममा चार वटा गीत समावेश गरिएका छन्। एल्बमका गीतमा चार भिन्न संगीतकारहरुले संगीत दिएका छन्। पहिलो गीत ‘बर्सियो आज मन’ मा प्रवेश मल्लिकको संगीत छ भने दोस्रो गीत ‘रङ्गाएर प्रीतका पाना’ लाई सचिन सिंहले संगीतबद्ध गरेका छन्। ‘मुहारमा बादल किन’ गीतका संगीतकार दीपक भट्टराई हुन् भने ‘चञ्चले चञ्चले’ गीतलाई गायक भबिन ढुंगानाले नै संगीतबद्ध गरेका छन्। ‘चञ्चले चञ्चले’ गीतको ट्रयाकलाई एल्बममा समावेश गरिएको छ। एल्बका गीतमा रञ्जन झा, गोपाल रसाइली, भबिन ढुंगाना तथा शम्भु बानियाको संगीत संयोजन छ।

माई पोखरी म्युजिक एण्ड मिडियाले बजार व्यवस्थान गरेको यो एल्बमको एउटा गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ। ‘बर्सियो आज मन…’ गीतको म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेका छन्। लक्ष्मण पौडेलले यो भिडियो निर्देसन गरेका हुन्।

विमोचन समारोहमा गीतकार दिनेश अधिकारी तथा संगीतकार दीपक जंगमले गायक भविन ढुंगानाको गायन कलाको प्रसंसा गरेका थिए। विमोचन समारोहमा पहिलो ‘नेपाली तारा’ मा चौथो स्थानमा रहन सफल गायक भबिन ढुंगानाले विमोचित एल्बमका दुई गीत प्रस्तुत गरेका थिए। गायक ढुंगानालाई संगीतकार सचिन सिंहले गिटारमा साथ दिएका थिए।

लामो समयदेखि गीत रचना गरिरहेका होमनाथ न्यौपानेले यसअघि आफ्नो रचनाका दुई एलबम ‘चेतना’ तथा ‘हिमालको चन्द्र’ स्रोतामाझ ल्याइसकेका छन्। पेशाले फुड टेक्नोलोजिष्ट न्पौपाने लामो समयदेखि नेबिको बिस्कुटको सिईओको रुपमा कार्यरत छन्। ‘होराइजन’ न्यौपानेको तेस्रो एकल गीति एल्बम हो।

SUBSCRIBE 👉