गायक प्रमोद खरेलको अगुवाईमा पुन:निर्माण भएको स्कुल हस्तान्तरण


गायक प्रमोद खरेलको अगुवाईमा महाभुकम्पका कारण पूर्ण रुपमा भत्किएको एक विद्यालयको पुनःनिर्माण भएको छ। प्रमोदले बेल्जियमको पासाःपुच लगायतको सहयोगमा दोलखा, सुन्दरावती स्थित सरस्वती प्राथमिक विद्यालय पुन: निर्माण गरिदिएका हुन्। कक्षा तीनसम्म पढाईने उक्त विद्यालयमा चार कोठे पक्की भवनको पुनःनिर्माण भएको हो।

pramod-kharel-school-1

पुन: निर्मित विद्यालयको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरे भने गायक खरेलले साँचो हस्तान्तरण गरे। कार्यक्रममा कलाकारले शिक्षा क्षेत्रमा देखाएको तदारुकताको शिक्षामन्त्री पोखेरेलले खुलेर प्रशंसा गरे। ‘भुकम्पपछि धेरै विद्यालय क्षतिग्रस्त छन्,’ उनले भने, ‘यसका लागि हामी पनि लागिरहेका छौं र प्रमोदजीहरु पनि आफ्नो स्थानबाट लागिरहनुहोस् भन्ने हामी चाहन्छौं।’

‘आज मेरो एउटा सपना पुरा भएको छ,’ गायक खरेलले भने, ‘महाभुकम्प लगत्तै स्थानिय सुदिपकुमार रेग्मीजीको माध्यमबाट यो स्कुल अवलोकनलागि म यहाँ आइपुगेको थिए। त्यतिवेला स्कुल पुर्ण रुपमा क्षतिग्रस्त थियो, विद्यार्थीको अनुहारमा निराशा थियो, कसैको खुट्टामा चप्पल थिएन, कसैको के। आज सबैको मुहार चम्किएको पाउँदा म खुशी छु।’

pramod-kharel-school-2

यो स्कुलमा ६८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल प्रल्हादप्रसाद पकुवालले बताए। ‘९० प्रतिशतभन्दा बढी विद्यार्थी थामी समुदायबाट छन्, ’ उनले भने। भूकम्पपछि पालमा राखेर विद्यार्थी पढाएको उनले बताए।

स्कुल हस्तान्तरण कार्यक्रममा हास्यकलाकारहरु किरण केसी, शिवहरी पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, प्रस्तोता नरेश भट्टराई लगायत सहभागी थिए।

कुल २२ लाखमा निर्माण भएको स्कुलका लागि बेल्जियममा रहेको संस्था पासाःपुचले १० लाख रुपिँया सहयोग गरेको प्रमोदले बताए । त्यस्तै गुरुङ ब्रदर्स युएसए, सुषमा सुब्बा (युके), प्रमोदराज न्यौपाने एण्ड ग्रुप (युके), सुर्यप्रसाद रेग्मी (दोलखा), रोहित सुवेदी (युएसए), इप्लानेट नेपाल लगायतले पनि सहयोग उपलब्ध गराएका थिए।

स्कुल पुनःनिर्माणकै लागि झापामा मेची अभियानले कन्सर्ट आयोजना गरेको थियो । कार्यक्रममा जितु नेपालले निःशुल्क प्रस्तुति दिएका थिए। ‘अहिलेसम्म मैले मेरो पारिश्रामिकको बारेमा केही सोधेको थिइन,’ कार्यक्रममा जितुले भने, ‘आज मैले स्कुलको भित्तामा पारिश्रामिक स्वरुप मेरो नाम देखे, जिन्दगीभर नमेटिने पारिश्रामिक पाउँदा खुशी छु।’

SUBSCRIBE 👉